विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीभित्र निष्ठावान र लामो समयदेखि संगठनमा योगदान पुर्याएका कार्यकर्ताको क्रियाशील सदस्यता खोस्ने प्रयास भइरहेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कार्कीले पार्टीको सिद्धान्त र संगठनका लागि निरन्तर संघर्ष गरेका कार्यकर्तालाई निष्क्रिय बनाउने प्रयास स्वीकार्य नहुने बताए।
उनले सिद्धान्तनिष्ठ कार्यकर्ताको क्रियाशील सदस्यता खारेज गर्ने साहस निरंकुश राणा शासन र राजतन्त्रकालमा समेत नभएको उल्लेख गर्दै अहिले त्यस्तो अवस्था सिर्जना हुन खोजिएको टिप्पणी गरे।
कार्कीले पार्टी नेतृत्वले सार्वजनिक अभिव्यक्ति र व्यवहारमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै पार्टीभित्र बढ्दो असन्तुष्टिलाई समयमै सम्बोधन गर्नुपर्ने बताए। उनले उक्त भेला कांग्रेसलाई कमजोर बनाउने उद्देश्यले नभई संगठनलाई थप बलियो, एकताबद्ध र सुदृढ बनाउने लक्ष्यसहित आयोजना गरिएको स्पष्ट पारे।
कार्यक्रममा पूर्वसांसद सरिता प्रसाईंले पनि पार्टीभित्रको एकता अभियानलाई अवरोध नगर्न नेतृत्वलाई आग्रह गरिन्। आन्तरिक छलफल र भेलाहरूलाई सकारात्मक रूपमा लिनुपर्नेमा उल्टै रोक्ने प्रयास भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
प्रसाईंले कांग्रेस कमजोर हुँदा मुलुक नै राजनीतिक रूपमा अस्थिर बन्ने खतरा रहेको बताउँदै वर्तमान राजनीतिक अवस्था, संसद्को गतिरोध र संविधानमाथि देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गरिन्। आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा कार्यकर्ताको साथबिना सफलता सम्भव नरहेको उल्लेख गर्दै उनले नेतृत्वलाई कार्यकर्ताको भावना बुझ्न आग्रह गरिन्।
भेलाका आयोजकमध्ये कोशी प्रदेश कांग्रेस समितिका महामन्त्री भूपेन्द्र राईले कार्यक्रम कुनै व्यक्ति वा समूह विशेषको स्वार्थका लागि नभई पार्टीभित्र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको बताए। उनका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका प्रतिनिधि तथा कार्यकर्ताले संगठनको अवस्था, क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया, महाधिवेशनको तयारी र पार्टीभित्र देखिएका समस्याबारे धारणा राख्नेछन्।
भेलामा कांग्रेस नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायत नेताहरूको सहभागिता रहेको छ। उनीहरूले पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण र आगामी महाधिवेशनको तयारीबारे धारणा राखिरहेका छन्।
पछिल्लो समय क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर कांग्रेसभित्र विवाद बढ्दै गएको छ। इतर पक्षका नेताहरूले सदस्यता व्यवस्थापनको नाममा सक्रिय कार्यकर्तामाथि अन्याय भइरहेको आरोप लगाउँदै आएका छन्। विराटनगरमा जारी यो भेला कांग्रेसभित्रको शक्ति सन्तुलन, संगठनात्मक बहस र आगामी महाधिवेशनको तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।