लोड हुँदैछ...

मेनु

विराटनगरको होटलमा मृत भेटिएका व्यक्ति पटना गोलीकाण्डका अभियुक्त

विराटनगरको होटलमा मृत भेटिएका व्यक्ति पटना गोलीकाण्डका अभियुक्त

विराटनगर । विराटनगरको एक होटलमा मृत फेला परेका व्यक्ति भारतको बिहार राज्यको चर्चित पटना गोलीकाण्ड तथा खान ग्लोबल स्टडिजमा भएको तोडफोड घटनाका अभियुक्त भएको खुलेको छ ।

विराटनगर–१० स्थित शुभ होटलको कोठामा बिहीबार मृत फेला परेका व्यक्ति २४ वर्षीय प्रिन्स कुमार यादव हुन्।

प्रहरीका अनुसार उनी केही दिनदेखि सोही होटलमा बस्दै आएका थिए। होटलमा दर्ता गर्दा उनले उपचारका लागि नेपाल आएको विवरण उल्लेख गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकसँग अन्य चार भारतीय नागरिक पनि होटलमा बसिरहेका थिए। घटनापछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।

मृतक प्रिन्स कुमार यादव भारतको बिहारमा चर्चित ‘खान सर काण्ड’ का आरोपी रहेको खुलेको छ। गत जुन २ मा पटना स्थित रोशन आनन्दले सञ्चालन गरेको ज्ञान बिन्दु कोचिङ र खान ग्लोबल स्टडिजबीच उत्पन्न विवादका क्रममा खान ग्लोबल स्टडिजमा तोडफोड, झडप र गोली चलेको थियो। घटनाको नेतृत्व यादवले गरेको आरोपमा भारतीय प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरी खोजी गरिरहेको थियो।

मोरङ प्रहरी प्रमुख एसपी कोवित कट्टुवालका अनुसार भारतमा मुद्दा दर्ता भएपछि यादव नेपाल आएर विराटनगरको बसपार्क क्षेत्र आसपास बस्दै आएका थिए। उनी होटलमा मृत फेला परेपछि घटनाबारे विस्तृत अनुसन्धान थालिएको छ।

यादव ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दका भाइ हुन्। उनी संस्थाको प्रशासनिक तथा दैनिक व्यवस्थापनको जिम्मेवारीमा सक्रिय रहेको बताइएको छ।

प्रहरीले मृतकका परिवारजनलाई जानकारी गराइसकेको र शव जिम्मा लगाउने तयारी भइरहेको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेकाले मृत्यु रहस्यमय देखिएको भन्दै प्रहरीले सबै पक्षबाट अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।