विराटनगर । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र बढ्दो विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन सबै नेताहरूले पहल गर्नुपर्ने बताएका छन्।
विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको जस्तो अवस्था देखिएको उल्लेख गर्दै यसलाई अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था भएको बताए।
उनले लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको कांग्रेस अहिले विभाजित अवस्थामा पुग्नु पीडादायी भएको भन्दै पार्टी आफैं नटुक्रिएको, तर विभिन्न कारणले टुक्र्याइएको दाबी गरे। सर्वोच्च अदालत र निर्वाचन आयोगका केही निर्णयले पनि पार्टीलाई आजको अवस्थामा पुर्याएको उनको आरोप थियो।
कोइरालाले लोकतान्त्रिक मूल्य–मान्यता, परिवर्तनको एजेन्डा र पार्टीको संस्थागत विरासत जोगाउन कांग्रेसभित्रको एकता अपरिहार्य रहेको बताए। उनले पार्टी बलियो नभएसम्म देशको विकास र लोकतन्त्रको सुदृढीकरण सम्भव नहुने जिकिर गरे।
वर्तमान नेतृत्वलाई संकेत गर्दै उनले कांग्रेसमा धेरै अनुभवी र पुराना नेताहरू बाहिर रहँदा सीमित समूहका भरमा पार्टी सञ्चालन गर्न कठिन हुने बताए। सबै पक्षलाई समेटेर अघि बढ्न सके मात्रै पार्टीलाई थप मजबुत बनाउन सकिने उनको धारणा थियो।
“कांग्रेसको सबैभन्दा ठूलो आवश्यकता अहिले एकता हो,” उनले भने, “विगतका तिक्तता बिर्सेर सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्छ। कांग्रेस बलियो भए मात्रै देशले सही दिशा पाउन सक्छ।” “०४८ मा गिरिजाप्रसाद कोइरालाले ठूलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा उभिएको थियो,” उनले भने । कांग्रेस अत्यन्तै कमजोर अवस्थामा रहेको भन्दै उनले प्रश्न गरे, “के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ?”
रूढिवादी सोचबाट नभई पहिले आफूमा परिवर्तन गर्नुपर्ने उनले सुझाव दिए । “आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,” उनले भने, “अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन्, तर भोट गएन ।”
कोइरालाले पार्टीको उज्ज्वल भविष्य र लोकतन्त्रको संरक्षणका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताको वातावरण निर्माण गर्न सम्पूर्ण नेताहरूलाई आग्रह गरे।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।