लोड हुँदैछ...

मेनु

राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई कोशी सरकारकले प्रदान गर्यो १८ लाख रुपैयाँ बढी पुरस्कार

राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई कोशी सरकारकले प्रदान गर्यो १८ लाख रुपैयाँ बढी पुरस्कार

विराटनगर । कोशी प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेलाडीहरूको मनोबल उच्च राख्न र उनीहरूलाई भविष्यप्रति आशावादी बनाउन ठोस योजनाहरू ल्याइरहेको बताएका हुन् ।

काठमाडौँमा हालै सम्पन्न १६ औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने कोशी प्रदेशका खेलाडीहरूलाई सम्मान गर्न मुख्यमन्त्री निवासमा आइतबार आयोजित चियापान समारोहमा उनले सो कुरा बताएका हुन् । विद्यालय उमेरका प्रतिभाहरूलाई खेलकुदमा आकर्षित गर्न नगद पुरस्कार र सम्मानको नीति लिइएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे । उनले भने, “हाम्रो प्रदेशमा खेल क्षेत्रलाई अत्यन्तै प्राथमिकता दिनेछौँ, कुनै पनि खेलाडीले अब निराश हुनुपर्ने छैन ।”

प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुल २७ वटा पदक जित्न सफल भएका छन् । तीमध्ये चार जना खेलाडीले स्वर्ण पदक जितेर प्रदेशको शिर उच्च बनाएका छन्। स्वर्ण पदक जित्ने खेलाडीहरूमा तेक्वान्दोकी यूमी राई, कराते (४५ केजी) की हिरा मगर, कराते (५० केजी) की प्रनिशा नेपाल र कराते (५५ केजी) की शशिका आले मगर रहेका छन् । उनीहरूलाई प्रदेश सरकारले जनही एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गरेको छ ।

प्रदेश सरकारले यस पटक १८ लाख ३५ हजार रुपियाँ पुरस्कारमा खर्च गरेको छ । जसमध्ये खेलाडीहरूले मात्रै १७ लाख रुपैयाँ प्राप्त गरेका छन् । सरकारले चार जना स्वर्ण विजेतालाई ४ लाख, छ जना रजत विजेतालाई ४ लाख ५० हजार र १७ जना काश्य विजेतालाई ८ लाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गरेको हो ।

यसैगरी, खेलका प्रशिक्षक र व्यवस्थापकहरूलाई पनि सरकारले बिर्सिएको छैन । ५ जना प्रशिक्षकलाई जनही १५ हजारका दरले ७५ हजार र ६ जना व्यवस्थापक तथा टोली नेतालाई जनही १० हजारका दरले ६० हजार रुपियाँ प्रोत्साहन स्वरूप प्रदान गरिएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री रामप्रसाद मेहेता, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । यसले प्रदेशमा खेल प्रशिक्षक र खेलाडीहरुमा मनोबल उच्च हुने सरकारको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।