लोड हुँदैछ...

मेनु

एमालेको मिसन जागरण अभियान : गुमेको साख फर्काउन यस्तो छ रणनीति

एमालेको मिसन जागरण अभियान : गुमेको साख फर्काउन यस्तो छ रणनीति

काठमाडौँ । नेकपा एमालेले पार्टीको गुमेको साख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गर्ने लक्ष्यका साथ ‘मिसन जागरण’ अभियानको विस्तृत कार्ययोजना अघि सारेको छ। पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारीसहित मुलुकभर परिचालन गर्ने तयारी गरेको हो।

पार्टीद्वारा तयार पारिएको ३१ पृष्ठ लामो अवधारणा पत्रमा २०७४ को आम निर्वाचनपछिका राजनीतिक उतारचढाव र एमालेले व्यहोर्नुपरेको पराजयका कारणहरूबारे विस्तृत समीक्षा गरिएको छ। एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई अस्वाभाविक र भूराजनीतिक चलखेलको परिणामको रूपमा व्याख्या गरेको छ।

पार्टीको दस्ताबेजमा भनिएको छ, ‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो। आकस्मिक र अस्वाभाविक रूपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रूपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो।’

एमालेले पार्टी फुट र नेकपाको विघटनका कारण कार्यकर्ता र जनतामा निराशा छाएको निष्कर्ष निकालेको छ। पार्टी र सरकारले गरेका सकारात्मक कामहरू जनतामाझ प्रभावकारी रूपमा लैजान नसक्दा विपक्षीहरूले भ्रम फैलाउने मौका पाएको र त्यसैको परिणामस्वरूप भदौ २३ र २४ गतेका विध्वंसकारी घटना भएको दस्ताबेजमा उल्लेख छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार, निर्वाचनमा एमाले विरुद्ध ‘अल्गोरिदम’ को प्रयोग र देशी–विदेशी शक्तिको चलखेल भएको एमालेको ठम्याइ छ। यसलाई चिर्न एमालेले अब ‘डिजिटल वार’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ (धारणा व्यवस्थापन) मा विशेष जोड दिने भएको छ।

जनतासँगको सम्बन्ध सुधार गर्न एमालेले ‘६ ज’ को विशेष नीति अघि सारेको छ। जसअन्तर्गत ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबज (जनताको बहुदलीय जनवाद)लाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा सक्षम नेतृत्व तयार गरौँ’ भन्ने बुँदाहरू रहेका छन्।

मिसन जागरण अभियानका लागि केन्द्रीय सदस्यहरूलाई पालिकास्तरको जिम्मेवारी तोकिएको छ। जिम्मेवारी पाएका नेताहरूले होटलमा नभई जनताकै घरमा बसेर उनीहरूको समस्या सुन्नुपर्ने र पार्टीको भावी नीतिका बारेमा स्पष्ट पार्नुपर्ने नीति लिइएको छ। यस अभियानको अनुगमनको समेत व्यवस्था गरिएको छ। प्रचार विभाग प्रमुख आचार्यका अनुसार यो अभियान आगामी स्थानीय र प्रदेश निर्वाचनसम्म निरन्तर जारी रहनेछ, जसले पार्टीको कमिटी प्रणालीलाई चुस्त बनाउन र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत एमालेको पक्षमा जनमत सिर्जना गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।