काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने औपचारिक भ्रमणका लागि आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी त्यसतर्फ लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। उक्त वार्ता नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी सहकार्यका क्षेत्रहरूलाई अझ सबल तुल्याउने विषयमा केन्द्रित रहनेछ। बेइजिङमा रहँदा मन्त्री खनालले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। सो अवसरमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा लगानीका सम्भावनाबारे छलफल गर्नेछन्।
यसैगरी, परराष्ट्रमन्त्रीको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन्। सोही क्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने मन्त्रालयले जनाएको छ।
चार दिवसीय भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्कने तालिका रहेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।