विराटनगर । झापाको मेचीनगर–४ बाहुनडाँगीमा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएपछि मानव–हात्ती द्वन्द्वको पुरानो समस्या फेरि चर्चामा आएको छ। वर्षौंदेखि हात्ती आतंक झेल्दै आएका स्थानीयले घटनापछि स्थायी समाधानको माग गर्दै प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्।
आइतबार बिहान करिब ४ः५५ बजे पूजा–आराधनाका लागि फूल टिप्न घरबाट बाहिर निस्किएकी पौडेलमाथि जंगली हात्तीले आक्रमण गरेको थियो। हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्थानीयका अनुसार पद्मा धार्मिक स्वभावकी महिला थिइन्। उनी हरेक बिहान पूजा गरेर ‘ओम शान्ति’मा ध्यान गर्न जाने गर्थिन्। बिर्तामोडमा बस्दै आएकी उनी एक दिनअघि मात्रै बाहुनडाँगीस्थित आफ्नो पुर्ख्यौली घरमा आएकी थिइन्।
उनको मृत्युले परिवारलाई दोस्रो ठूलो बज्रपात परेको छ। छोरा सन्तोष पौडेलका अनुसार उनका पिता यादव पौडेलको पनि १५ वर्षअघि इनारमा खसेर मृत्यु भएको थियो।
‘बुबालाई पहिले गुमायौं, अहिले आमालाई पनि हात्तीले लग्यो,’ उनले भावुक हुँदै भने, ‘परिवारमा दुई दिदीबहिनी र म मात्रै छु। हामी त वर्षौंदेखि हात्तीको त्रासमा बाँचिरहेका छौं।’
घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले प्रशासन र सम्बन्धित निकायविरुद्ध नाराबाजी गर्दै मानव–हात्ती द्वन्द्व नियन्त्रणमा राज्य असफल भएको आरोप लगाएका छन्।
स्थानीय सन्तोष अधिकारीका अनुसार बाहुनडाँगीमा जंगली हात्तीको समस्या नयाँ होइन। ‘वर्षौंदेखि यही समस्या छ। बाली नष्ट हुन्छ, घर भत्किन्छ, मानिस मर्छन्। तर स्थायी समाधान कहिल्यै भएन,’ उनले भने।
स्थानीयका अनुसार पद्माको मृत्यु भएको केही समयपछि पुनः गाउँतर्फ हात्ती देखिएको थियो। त्यसले बस्तीमा थप त्रास फैलाएको छ।
भारतसँग सीमा जोडिएको बाहुनडाँगी क्षेत्र मानव–हात्ती द्वन्द्वको दृष्टिले देशकै संवेदनशील क्षेत्रमध्ये एक मानिन्छ। भारतीय जंगलबाट नेपाल प्रवेश गर्ने हात्तीका बथानले पटक–पटक मानवीय तथा भौतिक क्षति पुर्याउँदै आएका छन्।
पद्मा पौडेलको मृत्युले एउटा परिवारको सहारा मात्रै खोसेको छैन, बाहुनडाँगीका बासिन्दाले वर्षौंदेखि उठाउँदै आएको प्रश्नलाई पनि फेरि सतहमा ल्याएको छ—मानव र हात्तीबीचको द्वन्द्व अन्त्य गर्न राज्यले प्रभावकारी कदम कहिले चाल्छ ?



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।