लोड हुँदैछ...

मेनु

विराटनगरबाट देउवा, कोइराला र सिटौला समूहको सहकार्य सुरु हुँदै

विराटनगरबाट देउवा, कोइराला र सिटौला समूहको सहकार्य सुरु हुँदै

विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्षमा कोशी प्रदेशको राजधानी विराटनगरबाट नयाँ अध्याय सुरु गर्दैछन् । पार्टी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र नेता कृष्णप्रसाद सिटौला समूहबीच आज विराटनगरमा संयुक्त भेला आयोजना गरिएको छ ।

विराटनगरस्थित मनास्लु होटलमा हुने प्रदेशस्तरीय भेलालाई कांग्रेसभित्र विकसित हुँदै गरेको नयाँ राजनीतिक ध्रुवीकरणका रूपमा हेरिएको छ । १४ औं महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालालाई संस्थापन पक्षले आयोजनामा समेत साझेदारी गर्दै प्रमुख अतिथिका रूपमा निम्त्याउनुलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

यसअघि देउवा समूहले बागमती, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आयोजना गरेका भेलाहरूलाई कोइराला समूहले बहिष्कार गर्दै आएको थियो । तर, कोशी प्रदेशमा भने दुवै समूहले ‘हात मिलाउँदै’ साझा मञ्च तयार पारेका हुन् । कांग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईका अनुसार यो भेला पार्टीभित्रको गुटगत राजनीति अन्त्य गरी सहकार्यको नयाँ जग बसाल्ने प्रयास हो । “हामीले कोशी प्रदेशबाटै दुवै टिमबीचको सहकार्यको सन्देश दिन यो कदम चालेका हौँ,” महामन्त्री राईले भने ।

भेलामा कांग्रेसका प्रभावशाली नेताहरूको ‘जम्बो टोली’ नै विराटनगर ओर्लिँदै छ । प्रमुख वक्ताका रूपमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी र एनपी साउद सहभागी हुने कार्यक्रम छ ।

यद्यपि, सहकार्यको यो प्रयासभित्र केही असन्तुष्टि पनि सतहमा आएका छन् । केन्द्रीय सदस्य राजीव कोइरालाले आफ्नो सहमति बिना नै प्रचार सामग्रीमा नाम राखिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । यसले गर्दा संयुक्त भेलाको घोषणा भए पनि तल्लो तहसम्मै पूर्ण एकता कायम गर्न भने केही चुनौती बाँकी नै रहेको देखिन्छ ।

सामाजिक सञ्जालमा ‘ऐतिहासिक बृहत् भेला’ भनेर प्रचार गरिएको यो कार्यक्रमले आगामी महाधिवेशन र पार्टीको भावी कार्यदिशामा कस्तो प्रभाव पार्छ भन्ने कुरा विराटनगरको यो मञ्चबाट नेताहरूले दिने अभिव्यक्तिमा निर्भर रहनेछ । कांग्रेसको राजनीतिमा सधैँ निर्णायक मानिने विराटनगरले आजको भेलाबाट देशैभरका कांग्रेस कार्यकर्तालाई कुन दिशाको सन्देश प्रवाह गर्छ, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।