विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षल भोलि आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष महाधिवेशनपछि देखिएका साङ्गठनिक कमजोरीलाई सच्याउन माग गर्दै यो समूहले शक्ति प्रदर्शन गर्न लागेको हो ।
शनिवार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै इतर समूहले भोलि बिहान ११ बजे विराटनगरमा आयोजना हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार उक्त भेलालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार एउटै मञ्चमा उपस्थित हुनेछन् । भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री भूपेन्द्र राईले पार्टी अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै नेतृत्वले आम कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाए उनले भने, ‘हामीले कुनै व्यक्ति वा गुटको स्वार्थका लागि यो भेला गरेका होइनौँ । कोइराला, देउवा वा सिटौला समूहभन्दा माथि उठेर कांग्रेसलाई पूर्ण रूपमा एकताबद्ध बनाउन हामी दबाब समूहका रूपमा प्रस्तुत भएका हौँ । नेतृत्वले अब पनि विपनामा आएर पार्टीको समस्या समाधान गर्ने आँट देखाउनुपर्छ ।’
पत्रकार सम्मेलनमा इतर समूहका नेताहरूले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् । कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापाको नेतृत्वले महाधिवेशनको मिति पटक–पटक सारेर कार्यकर्तामा अन्योल सिर्जना गरेको बताए ।
कार्कीले अहिलेको सदस्यता अध्यावधिक प्रक्रिया प्राविधिक रूपमा गलत भएको दाबी गर्दै यसले पार्टीको छविमा धक्का पुग्ने बताए । ‘अहिलेको अध्यावधिक प्रक्रियाले हिजो कांग्रेस विरुद्ध बागी उमेदवार बनेका वा अन्य चुनाव चिह्न लिएर चुनाव लडेकाहरूलाई समेत सजिलै पार्टीभित्र हुल्ने काम गरेको छ । यस्तो प्रक्रियाले सच्चा र पुराना कार्यकर्ताको अपमान हुन्छ’ उनले भने । १५ औ महाधिबेशन भाड्न खोजेको उनले आरोप लगाए ।
पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर समेत रहेका मोरङका जिल्ला उपसभापति नागेश कोइराला, नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाई लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो । उनीहरुले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र नेतृत्वलाई जवाफदेही बनाउन भोलिको भेला कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।