लोड हुँदैछ...

मेनु

नेप्से लगातार घट्यो, कारोबार रकम भने बढ्यो

नेप्से लगातार घट्यो, कारोबार रकम भने बढ्यो

विराटनगर । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले घटेर २७२४.०३ विन्दुमा झरेको छ। लगातार दोस्रो दिन बजार ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.५३ अंक, फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंकले घटेको छ। बिहीबार ३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३४२ कम्पनीका ९८ लाख ५६ हजार कित्ता शेयर ५४ हजार १७७ पटक किनबेच हुँदा कुल ४ अर्ब ३४ करोड १० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका क्रममा सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १३.५ प्रतिशतले बढ्दा कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १०.६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सिटी होटलको करिब २५ करोड रुपैयाँ तथा आँखुखोला जलविद्युत कम्पनीको २२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढ्दा ९ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने घटेका उपसमूहहरूको गिरावट ०.५० प्रतिशतभन्दा कम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।