लोड हुँदैछ...

मेनु

मनसुनजन्य विपद् तयारी तीव्र बनाउन कोशी सरकारको निर्णय

मनसुनजन्य विपद् तयारी तीव्र बनाउन कोशी सरकारको निर्णय

विराटनगर । आगामी मनसुनका कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य विपद्जन्य जोखिमलाई लक्षित गर्दै कोशी प्रदेश सरकारले सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायसँगको समन्वयमा पूर्वतयारीलाई तीव्र बनाउने निर्णय गरेको छ।

बिहीबार विराटनगरमा बसेको प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठकले विपद् जोखिम न्यूनीकरण, उद्धार तथा राहत व्यवस्थापनका विषयमा छलफल गर्दै उच्च जोखिम क्षेत्रको पहिचान, सुरक्षित स्थानको व्यवस्था, प्रभावित नागरिकको पूर्वस्थानान्तरण तथा विपद् व्यवस्थापन संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उद्धार सामग्रीको पर्याप्त व्यवस्थापन, तालिमप्राप्त सुरक्षाकर्मीको परिचालन र सम्बन्धित निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि जोड दिएको छ।

बैठकले विराटनगर महानगरपालिका–१६ र झापाको मेचीनगर नगरपालिका–६ मा रहेका होल्डिङ सेन्टर सञ्चालन गरी लागुऔषध दुर्व्यसनमा परेका युवा–युवतीको उपचार, सुधार र पुनर्स्थापनाका लागि प्रयोग गर्ने विषयमा कार्यदल गठन गरी संघीय सरकारसमक्ष पहल गर्ने निर्णय गरेको छ। साथै, वर्षाका कारण इलाममा क्षति पुगेका घरहरूको पुनर्निर्माणका लागि आवश्यक बजेट स्वीकृत गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय पनि गरिएको छ।

बैठकमा विगतका मनसुनजन्य विपद्का घटनाको समीक्षा गर्दै सम्भावित चुनौतीहरूको पहिचान र प्रभावकारी तयारीका उपायबारे छलफल भएको थियो। कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, सुरक्षा निकायका अधिकारी, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो।

प्रदेश सरकारले हरेक वर्ष दोहोरिने मनसुनजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न यस वर्ष पूर्वतयारीलाई विशेष प्राथमिकता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।