लोड हुँदैछ...

मेनु

भारतीय अवरोधले ५० हजार किलो नेपाली चिया रोकियो, कूटनीतिक पहलको माग

भारतीय अवरोधले ५० हजार किलो नेपाली चिया रोकियो, कूटनीतिक पहलको माग

विराटनगर । इलामको सूर्योदय नगरपालिकाले नेपाली चिया निर्यातमा पुनः देखिएको अवरोध हटाउन भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ प्रक्रियाका कारण ठूलो परिमाणमा नेपाली चिया भारतीय गोदाममै रोकिएको भन्दै नगरपालिकाले सरकारको ध्यानाकर्षण गराएको हो।

कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै नेपालका प्रमुख नगदे बालीमध्ये एक तथा विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत रहेको चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको अवरोधप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

नगरपालिकाका अनुसार भारतीय चिया बोर्डले गत वैशाखमा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म नेपाली चिया निर्यात प्रभावित भएको थियो। त्यसपछि ‘र्‍यान्डम स्याम्पलिङ’को सहमतिपछि निर्यात सुचारु भए पनि अहिले पुनः कोलकातास्थित आयातकर्ताको गोदाममा रहेका नेपाली चियाका प्रत्येक बोराबाट नमुना संकलन गरी परीक्षण गर्न थालिएको छ।

नमुना संकलन गरेको एक साताभन्दा बढी समय बितिसक्दा पनि परीक्षण प्रतिवेदन नआएको र प्रतिवेदन प्राप्त नभएसम्म बिक्री–वितरणमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। यसका कारण हाल करिब ५० हजार किलो नेपाली चिया भारतीय गोदाममै थन्किएको छ।

नगरपालिकाले लामो समय गोदाममा थन्किँदा चियाको गुणस्तरमा असर पर्ने जोखिम बढेको उल्लेख गर्दै यस्ता गैरभन्सार अवरोधले नेपाली चिया उद्योग, किसान, श्रमिक र समग्र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएको छ।

सूर्योदय नगरपालिकाले भारतीय चिया बोर्डबाट सिर्जना भएको अवरोध तत्काल हटाई पूर्ववत् सहमति र समझदारीअनुसार नेपाली चिया निर्यातको वातावरण सुनिश्चित गर्न नेपाल सरकारले भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।