विराटनगर । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.१४ अंकले घट्दै २७२८.०३ विन्दुमा झरेको छ। अघिल्लो दिन सामान्य सुधार देखिएको बजारमा पुनः गिरावट आउँदा लगानीकर्ताको मनोबल प्रभावित भएको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले घटेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। बुधबार ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ९० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबारमा आएका ३५० कम्पनीका ९२ लाख ३१ हजार कित्ताभन्दा बढी सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री भएका छन्।
बजार घटे पनि सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य करिब ८.५ प्रतिशत र अप्पर लोहोरे खोला हाइड्रोपावरको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ।
यता सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १३.५१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सिटी होटल अग्रस्थानमा रह्यो। कम्पनीको २३ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढी तथा बुंगल हाइड्रोको १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह मात्रै हरियालीमा रहे भने बाँकी ११ उपसमूह घटेका छन्। वित्त उपसमूह सर्वाधिक १.४५ प्रतिशतले घट्दा व्यापार उपसमूहमा पनि १ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।