लोड हुँदैछ...

मेनु

रास्वपाभित्र समावेशिता कमजोर रहेको सचेतक परियारको टिप्पणी

रास्वपाभित्र समावेशिता कमजोर रहेको सचेतक परियारको टिप्पणी

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले पार्टीभित्र समावेशिताको अवस्था सन्तोषजनक नरहेको भन्दै नेतृत्व चयनमा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्।

रास्वपा कोशी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै परियारले पार्टी टाठाबाठा, पहुँचवाला र पैसावालाको मात्र बन्न नहुने उल्लेख गरे। उनले मधेसी, मुस्लिम, थारु, राई, लिम्बुलगायत सीमान्तकृत समुदायलाई नेतृत्व तहमा समेट्नुपर्नेमा जोड दिए।

धनकुटाजस्तो राई–लिम्बु समुदायको बाहुल्यता रहेको जिल्लाको ११ सदस्यीय कार्यसमितिमा एक जना पनि राई समुदायको प्रतिनिधि नपर्नुलाई उनले समावेशिताको कमजोरीको उदाहरणका रूपमा प्रस्तुत गरे। यस्तो अवस्था न्यायपूर्ण नहुने उनको भनाइ थियो।

परियारले नेपालमा समावेशी प्रतिनिधित्वको अभ्यास नयाँ नभएको उल्लेख गर्दै २०१६ सालमै तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले डोटीबाट द्वारिका देवी ठकुरानीलाई निर्वाचित गराएर मन्त्रिपरिषद्मा सहभागी गराएको इतिहास स्मरण गरे।

उनले कोशी प्रदेशमा अझै पनि पहिचानको आन्दोलन जारी रहेको र समुदायका मुद्दा संवेदनशील बनेको अवस्थामा पार्टीले विकास, समृद्धि र सुशासनसँगै समावेशितालाई पनि समान प्राथमिकता दिनुपर्ने बताए।

सीमान्तकृत समुदायलाई निरन्तर उपेक्षा गरिए भविष्यमा राजनीतिक रूपमा ठूलो चुनौती सिर्जना हुन सक्ने चेतावनी दिँदै उनले रास्वपाले समावेशी र समानुपातिक प्रतिनिधित्वलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।