लोड हुँदैछ...

मेनु

रोङ गाउँपालिकाद्वारा १२१ गुरु किसान सम्मानित

रोङ गाउँपालिकाद्वारा १२१ गुरु किसान सम्मानित

विराटनगर । इलामको रोङ गाउँपालिकाले राष्ट्रिय कृषक दिवसको अवसरमा १२१ जना गुरु किसानलाई सम्मान गर्नुका साथै कृषकका लागि तयार गरिएको ‘किसान मार्गदर्शन पुस्तक’ विमोचन गरेको छ।

कृषकलाई आधुनिक, व्यावसायिक तथा वैज्ञानिक कृषि प्रणालीबारे जानकारी उपलब्ध गराउने उद्देश्यले प्रकाशित पुस्तक सार्वजनिक गर्दै गाउँपालिकाले कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउने कृषकहरूको सम्मानसमेत गरेको हो।

गाउँपालिकाले कार्यविधिअनुसार छनोट गरिएका १२१ जना गुरु किसानलाई सम्मान गरेको जनाएको छ। सम्मानित गुरु किसान सोम अर्यालले स्थानीय सरकारको यस पहलले किसानलाई हौसला मिल्नुका साथै कृषि पेशाप्रति सम्मान बढाएको बताए।

विमोचित पुस्तकमा कृषि उत्पादन, बाली व्यवस्थापन, पशुपालन, रोग तथा कीरा नियन्त्रण, कृषि प्रविधि, बजार व्यवस्थापनलगायत विषय समेटिएका छन्। साथै सफल किसानका अनुभव तथा कृषकले अपनाउनुपर्ने रणनीति र सावधानीबारे समेत उल्लेख गरिएको छ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले कृषि क्षेत्रको विकास र कृषकको आयस्तर वृद्धि स्थानीय सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले कृषि उत्पादन वृद्धि, व्यवसायीकरण तथा प्रविधिमैत्री खेती प्रणाली विस्तारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।

गाउँपालिकाले कृषकलाई ज्ञान, सीप र प्रविधिसँग जोड्दै कृषि क्षेत्रलाई थप उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।