विराटनगर । जिल्ला प्रहरी कार्यालय झापाले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सञ्चालन गरेको विशेष अभियानअन्तर्गत पछिल्लो दुई दिनमा विभिन्न मुद्दाका २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीमध्ये २० जनाको फैसला कार्यान्वयन हुँदा पाँच वर्ष तीन महिना छ दिन कैद सजाय र ६ लाख रुपैयाँभन्दा बढी जरिवाना असुलउपर हुने छ। जिल्ला अदालत झापाको आदेशअनुसार फरार रहेका प्रतिवादीलाई खोजी गर्ने क्रममा उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, शिवगञ्ज, बिर्तामोड, बैगुनधुरा तथा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले घर तथा लुकिछिपी बसेका स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।
पक्राउ परेकामध्ये अधिकांश लागुऔषध सम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन्। अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका उनीहरूलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
लागुऔषध मुद्दामा सजाय पाएका विजयकुमार भट्टराई, रणबहादुर विक, गणेश दुलाल, बादल राई, गोपाल रिजाल, सौजन्य किसान, सावित विक, राजकुमार महतो, ईश्वर गुरुङ, अजय लिम्बू, प्रवेश लावती, महेश रैवा, पुतमकुमारलगायत पक्राउ परेका छन्। मिलन घिमाललाई लागुऔषध मुद्दामा दुई वर्ष चार महिना ११ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
यस्तै बैंकिङ कसुर तथा चेक अनादर मुद्दाका फरार प्रतिवादी लिलाराज कँडेललाई पनि पक्राउ गरिएको छ। उनीविरुद्ध १० दिन कैद, ३ लाख ५० हजार रुपैयाँ जरिवाना तथा चेक अनादर मुद्दामा थप २ हजार ५०० रुपैयाँ जरिवानाको फैसला भएको थियो।
नागरिकता किर्ते मुद्दाका होमबहादुर मगर, चोरी मुद्दाका प्रदीप दङ्गड, बैंकिङ कसुरका प्रतिवादी रोमादेवी गिरी तथा बहुविवाह मुद्दाका जीवन इङ्दङ्गो र सविता श्रेष्ठलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। बहुविवाह मुद्दामा जीवन र सवितालाई जनही एक वर्ष कैद र ५–५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।
प्रहरीले बैंकिङ कसुर मुद्दामा संलग्न जमुना देवी इङ्नाम, मञ्जु राजवंशी, नारदप्रसाद अधिकारी र अविरलाल राजवंशीलाई पनि पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी वशुन्धरा खड्काले अदालतको फैसला कार्यान्वयन कानुनी शासनको महत्वपूर्ण आधार भएकाले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने बताइन्। उनका अनुसार सजाय तोकिएपछि पनि फरार रहने प्रवृत्ति नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिएको हो।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।