लोड हुँदैछ...

मेनु

मन्त्रीको गाडी रोक्न सडकमै सुते स्थानीय

मन्त्रीको गाडी रोक्न सडकमै सुते स्थानीय

विराटनगर । जीर्ण रहेको सडक मर्मतमा कसैले चासो नदिएको र दैनिक दुर्घटना बढेको भन्दै विराटनगरका स्थानीयवासी आन्दोलित भएका छन्। सडकको बिजोग हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै बिहीबार स्थानीयवासी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको गाडी रोक्न सडकमै सुतेर विरोधमा उत्रिएका हुन्।

विराटनगरको पुष्पलाल चोक–तिनपैनी सडकखण्डअन्तर्गत ल क्याम्पस अगाडि जम्मा भएका विराटनगर वडा नं. १ र ३ का बासिन्दाले ढाट लगाएर सडक अवरुद्ध गर्नुका साथै मन्त्रीको गाडी रोक्न सडकमै पल्टिएका थिए। दैनिक यही सडक भएर आवतजावत गर्ने मन्त्रीले समेत सडकका खाल्डाखुल्डी र जनताको सास्तीप्रति आँखा चिम्लिएको भन्दै आक्रोशित स्थानीयले मन्त्रीको गाडी घेराउ गरेका हुन्।

‘हामीलाई राजनीतिक आश्वासन होइन, ज्यान जोगाउने सुरक्षित सडक चाहिएको हो,’ आन्दोलनमा सहभागी स्थानीय डम्बर दाहालले भने, ‘पटक–पटक सम्बन्धित निकायमा धाउँदा र आग्रह गर्दा पनि कसैले सुनेन। हाम्रा कुराको सुनुवाइ नै नभएपछि बाध्य भएर सडकमै सुतेर मन्त्रीको गाडी रोक्नुपरेको हो।’

स्थानीयका अनुसार खाल्डाखुल्डीले भरिएको उक्त सडकमा दैनिक दुईदेखि चारवटासम्म साना–ठूला सवारी दुर्घटना हुने गरेका छन्। बाटोमा भएका ठूला खाल्डाका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।

सडक बिग्रिनुको मुख्य कारण ओभरलोड सवारीसाधन रहेको स्थानीयको ठहर छ। बालुवा, गिट्टी तथा निर्माण सामग्री बोकेका अत्यधिक भार भएका टिपरहरू दैनिक सयौंको संख्यामा यही सडक भएर गुड्ने गरेका छन्। तर, ओभरलोड नियन्त्रणमा सरकारी निकाय र ट्राफिक प्रहरीले कुनै प्रभावकारी भूमिका नखेलेको उनीहरूको आरोप छ।

यो सडक विराटनगर महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्छ। महानगरले आर्थिक वर्ष २०८१ को अन्त्यतिर मर्मतको काम गरे पनि कमसल सामग्रीको प्रयोग र अनियमितताका कारण केही समयमै सडक पुरानै जीर्ण अवस्थामा पुगेको स्थानीय बताउँछन्।

सडक मर्मतको माग राख्दै केही दिनअघि मात्रै स्थानीयवासी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीलाई भेट्न पुगेका थिए। सो क्रममा स्थानीय र मेयर कोइरालाबीच चर्काचर्की नै भएको थियो। मेयर कोइरालाले निर्माण सामग्रीको मूल्य बढेकाले ठेकेदारले पुरानै दररेटमा काम गर्न नमानेको जवाफ दिँदै सडक मर्मतको काम तत्काल अघि बढाउन चुनौती रहेको बताएका थिए।

यता, स्थानीय सडकमै सुतेर मन्त्रीको गाडी रोक्दै चक्काजाममा उत्रिएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र स्थानीय प्रहरी प्रशासनको टोली घटनास्थल पुगेको थियो। प्रहरीले आन्दोलनरत स्थानीयसँग छलफल गरी सडक खुलाउन आग्रह गरेपछि मात्रै अवरोध हटेको थियो। मोरङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले केही बेर अवरोध भएपनि खुलाइएको बताए । ‘सडक अवरोध हुन लागेपछि हामीले डिएसपी सन्तोष श्रेष्ठको नेतृत्वमा टोली खटिएको थियो । प्रहरी टोलीले सम्झाइ बुझाइ गरेपछि स्थानीयले बाटो खुला गरेका छन्,’ मिश्रले भने ।

ओभरलोड सवारीसाधन नियन्त्रण र सडकको दिगो मर्मतमा तत्काल प्रभावकारी कदम नचालिए थप आन्दोलनमा उत्रिने स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।