लोड हुँदैछ...

मेनु

विराटनगर वडा–११

पूर्वाधारदेखि सामाजिक रूपान्तरणसम्म

पूर्वाधारदेखि सामाजिक रूपान्तरणसम्म

विराटनगर । केही वर्ष अघिसम्म विराटनगर महानगरपालिकाको वडा नम्बर ११ भन्नाले अव्यवस्थित सडक र धूलो–हिलोको पहिचान मात्र थियो । तर, पछिल्लो पाँच–छ वर्षको अवधिमा यो वडाले आफ्नो स्वरूप मात्र फेरेको छैन, महानगरकै एक नमूना र व्यवस्थित वडाका रूपमा आफूलाई उभ्याएको छ । सडक कालोपत्रे गर्नेदेखि अत्याधुनिक बसपार्क निर्माणसम्म, र ज्येष्ठ नागरिकलाई लौरो उपहार दिनेदेखि महिलालाई आत्मनिर्भर बनाउनेसम्मका योजनाले यहाँको विकासलाई बहुआयामिक बनाएको छ ।

विराटनगर ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपाने यतिबेला आफ्नो दोस्रो कार्यकालको अन्त्यतिर छन् । पहिलो कार्यकालमा सुरु गरिएका ठूला पूर्वाधारका योजनालाई पूर्णता दिनु र सामाजिक सुरक्षाका नयाँ कार्यक्रम लागू गर्नु उनको मुख्य प्राथमिकता बनेको छ । “हामीले भौतिक पूर्वाधारलाई मात्र विकास ठानेनौं,“ न्यौपाने भन्छन्, “मानवीय विकास, वातावरण संरक्षण र ज्येष्ठ नागरिकको सम्मान पनि विकासकै मुख्य पाटा हुन् भन्ने मान्यताका साथ काम गरिरहेका छौँ ।’’

पूर्वाधारमा फड्को र आधुनिक बसपार्क
विराटनगर–११ को सबैभन्दा ठूलो भौतिक उपलब्धि भनेको अत्याधुनिक बस टर्मिनल हो । नगर विकास कोषको ८ करोड ६७ लाख रुपैयाँ ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माण गरेको यो बसपार्क अहिले यस क्षेत्रकै गौरव बनेको छ । ३० कठ्ठा क्षेत्रफलमा फैलिएको यो टर्मिनलमा एकैपटक ५७ वटा साना–ठूला बस पार्किङ गर्न सकिन्छ ।

दुईतले अत्याधुनिक भवनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेष्टुरेन्ट र ब्यागेज कोठाको व्यवस्था छ । यसले विराटनगरको लथालिङ्ग यातायात व्यवस्थालाई मात्र सुधारेको छैन, वडाको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पारेको छ । वडाले अहिले ५ वर्षका लागि व्यवस्थापन समिति बनाएर यसको सञ्चालन गरिरहेको छ ।

सडक सञ्जालको कुरा गर्दा, वडाले वार्षिक रूपमा कम्तीमा २०० देखि ४०० मिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । “बस्ती–बस्तीभित्रका साना गल्लीहरू जुन हिजो हिलोले हिँडिसाध्य थिएनन्, ती अहिले ढलान र पिच भएका छन्,’’ अध्यक्ष न्यौपानेले थपे, “हाम्रो लक्ष्य भनेको वडाका हरेक घरलाई पिच वा ढलान सडकले जोड्नु हो ।’’

ज्येष्ठ नागरिकलाई भवन
वडा नम्बर ११ ले ज्येष्ठ नागरिकको सम्मानमा विशेष कार्यक्रमहरू अघि सारेको छ । वडामा रहेका वृद्धवृद्धाहरूलाई ‘लौरो उपहार’ दिनेदेखि उनीहरूलाई विभिन्न धार्मिक तीर्थस्थलको भ्रमण गराउनेसम्मका काम भएका छन् । वडा कार्यालयले ज्येष्ठ नागरिकहरूका लागि विशेष भजन–कीर्तन भवनको व्यवस्था गरिदिएको छ, जहाँ उनीहरू दिनभरि भलाकुसारी र मनोरञ्जन गर्छन् ।

यति मात्र होइन, जनपथ क्षेत्रमा करिब ४ कठ्ठा जग्गामा ज्येष्ठ नागरिक पार्क निर्माणको काम पनि अघि बढेको छ । स्वास्थ्यको क्षेत्रमा पनि वडाले सक्रियता देखाएको छ । वडाभित्र रहेको आयुर्वेदिक स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रमार्फत नियमित रूपमा सुगर जाँच र अन्य स्वास्थ्य शिविरहरू सञ्चालन हुने गरेका छन् ।

महिला सशक्तिकरणका लागि वडाले सीपमूलक तालिमलाई प्राथमिकता दिएको छ । पछिल्लो समय ‘समृद्ध समाज नेपाल’ जस्ता संस्थाहरूसँगको सहकार्यमा महिलाहरूलाई सिलाइ–कटाइ र सुर्के थैली बनाउने तालिम दिइएको छ । करिब २ लाख रुपैयाँको लागतमा सञ्चालित यस्ता तालिमले यहाँका विपन्न र बेरोजगार महिलाहरूलाई घरमै बसेर आम्दानी गर्ने बाटो खोलिदिएको छ ।

हरियाली र वातावरण संरक्षण
वातावरण जोगाउन वडाले ‘एक घर, एक बिरुवा’ को अवधारणा ल्याएको छ । गत वर्ष मात्रै वडाबासीलाई १ हजारभन्दा बढी बिरुवा वितरण गरिएको थियो । ती बिरुवाहरू हुर्किसकेका छन् । चालू आर्थिक वर्षमा पनि फलफूलका बिरुवा वितरण गर्ने योजना वडाको छ ।
सहरको सौन्दर्य र ट्राफिक जामको समस्या समाधानका लागि नहर क्षेत्रलाई ‘बाइपास रोड’ का रूपमा विकास गर्ने महत्वाकांक्षी योजनामा पनि वडाले काम गरिरहेको छ । वडा नम्बर ६ र ११ भित्र ५ करोड र उत्तरतर्फ ११ करोडको लागतमा नहर क्षेत्रलाई व्यवस्थित बनाउने लक्ष्य छ । “नहरमा १२ महिना पानी बगाउने र वरपर हरियाली कायम गरेर सहरको सौन्दर्य बढाउने हाम्रो सोच छ,’ अध्यक्ष न्यौपानेले भने ।

आफ्नै सुविधासम्पन्न भवन
वर्षौंसम्म साँघुरो भवनबाट सेवा दिँदै आएको वडा कार्यालय अहिले आफ्नै भव्य भवनमा सरेको छ । विराटनगर–११ को दुर्गा मन्दिर अगाडि ८४ लाख ९७ हजार रुपैयाँको लागतमा दुईतले सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।
उपभोक्ता समितिमार्फत निर्माण गरिएको यस भवनमा ९० प्रतिशत लगानी महानगरको छ भने १० प्रतिशत स्थानीय उपभोक्ताले बेहोरेका छन् । भवनको माथिल्लो तलामा ठूलो सभा हल छ, जसले वडाका सार्वजनिक कार्यक्रम र तालिमहरू सञ्चालन गर्न सहज बनाएको छ । उपभोक्ता समितिले निकै कम समयमा गुणस्तरीय भवन निर्माण गरेर देखाएको यो एउटा सफल उदाहरण पनि हो ।

करिब १५ हजार जनसंख्या भएको यो वडामा अझै केही चुनौतीहरू बाँकी नै छन् । बढ्दो सहरीकरणसँगै ढल निकास र फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने माग स्थानीयको छ । तर, वडा कार्यालयले जसरी योजनाबद्ध रूपमा काम गरिरहेको छ, त्यसले स्थानीयमा आशा जगाएको छ ।

“विराटनगर–११ लाई महानगरकै डिजिटल र प्रविधिमैत्री वडा बनाउने हाम्रो अर्को लक्ष्य हो,’ वडाअध्यक्ष न्यौपानेले भविष्यको योजना सुनाउँदै भने । भौतिक पूर्वाधारको जगमा उभिएको सामाजिक रूपान्तरणको यो यात्राले विराटनगर–११ लाई साँच्चिकै समृद्ध बनाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।