लोड हुँदैछ...

मेनु

रास्वपा कोशी प्रदेश नेतृत्वको मतगणना आज, सभापतिमा चार जनाबीच प्रतिस्पर्धा

रास्वपा कोशी प्रदेश नेतृत्वको मतगणना आज, सभापतिमा चार जनाबीच प्रतिस्पर्धा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज मतगणना हुँदैछ।

बुधबार सम्पन्न मतदानमा करिब ९०१ मतदातामध्ये ७०२ मत खसेको निर्वाचन समितिले जनाएको छ। अधिवेशनबाट सभापतिसहित ६१ सदस्यीय प्रदेश समिति चयन गरिनेछ।

सभापति पदका लागि सुनसरी घर भएकी वर्तमान प्रदेश कार्यवाहक सभापति गोमा तामाङ, मोरङका चन्द्रबहादुर राई, तेह्रथुमका डा. खगेन्द्र कटुवाल र झापाका चन्द्रकुमार गौली चुनावी मैदानमा छन्। सभापति निर्वाचित हुन कुल सदर मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। कुनै उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसके सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ।

प्रदेश सदस्यका लागि करिब १५६ जनाले उम्मेदवारी दिएका छन्। पहिलो चरणबाट ६१ सदस्य चयन भएपछि उनीहरूमध्येबाट बाँकी पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ।

यसअघि मोरङको विराटचोकस्थित जेसिज भवनमा जारी अधिवेशनमा नेतृत्व चयनलाई लिएर आन्तरिक विवाद र गुटगत प्रतिस्पर्धा सतहमा आएको थियो। बन्दसत्रलाई सम्बोधन गर्दै कार्यवाहक सभापति तथा सभापतिका उम्मेदवार तामाङले केही सांसदहरू संगठनभित्र गुटबन्दी बढाउन र निर्वाचनलाई प्रभावित पार्न सक्रिय भएको आरोप लगाएकी थिइन्।

लोकतान्त्रिक प्रक्रियाबाट आउने जुनसुकै परिणाम स्वीकार गर्ने बताउँदै तामाङले कुनै निश्चित प्यानल वा समूहको पक्षमा लागेर संगठन कमजोर बनाउने प्रयास नगर्न चेतावनी दिएकी थिइन्। आफू कुनै गुट वा प्यानलको नभई स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेको उनको भनाइ थियो।

अधिवेशनका क्रममा प्रधानमन्त्री तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह निकट समूहले सभापतिका उम्मेदवार चन्द्रबहादुर राईलाई समर्थन गरेको चर्चा चलेपछि विवाद थप चर्किएको थियो। बालेन निकट मानिने रास्वपाका महामन्त्री भुदेव शाह अधिवेशनस्थलमा सक्रिय देखिएपछि विभिन्न अड्कलबाजीसमेत भएको थियो।

यद्यपि उम्मेदवारहरूले औपचारिक रूपमा आफूहरू संगठनको एकताका पक्षमा रहेको र निर्वाचनलाई लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने बताएका छन्।

अब मतगणनाको परिणामसँगै रास्वपाको कोशी प्रदेश नेतृत्व कसको हातमा जाने भन्ने टुंगो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।