विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक निर्वाचनका नाममा हुन सक्ने प्यानलगत विकृति र गुटबन्दीप्रति मोरङ क्षेत्र नम्बर ३ का सांसद एवं पार्टी नेता गणेश कार्कीले असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टीको कोशी प्रदेश अधिवेशनको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता कार्कीले प्यानल प्रथाको सुरुवात दोस्रो व्यक्तिले अर्काको प्रचार गर्ने शैलीबाटै हुने भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएका हुन् । रास्वपामा प्यानल प्रणाली नहुनु सकारात्मक पक्ष भए पनि चुनावका बेला केही व्यक्तिहरू उम्मेदवारका लागि भोट माग्दै हिँडेको पाइएको उल्लेख गर्दै उनले अब उम्मेदवार स्वयंले मात्र आफ्ना लागि मत माग्नुपर्ने र अरूको पम्प्लेट बोकेर हिँड्न नहुने स्पष्ट पारेका छन् ।
विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपामा भित्रिएका नेता(कार्यकर्ताहरूका बीचमा आन्तरिक विभेद हुन सक्ने खतराप्रति संकेत गर्दै कार्कीले पार्टी अहिले ुसप्तकोशीु जस्तै विशाल भइसकेको दाबी गरेका छन् । सप्तकोशी नदीमा तमोर, लिखु वा इन्द्रावती मिसिएपछि पानीको पुरानो स्रोत छुट्याउन खोज्नु मूर्खता र समयको बर्बादी मात्र हुने तर्क गर्दै उनले रास्वपामा आउनुअघि को कता थियो भन्ने कुराले अब कुनै फरक नपार्ने बताएका छन् । विगतका पुराना कथाहरू सकिइसकेकाले अब सबै एक भएर पार्टीको विशालतालाई देशको हितका लागि उपयोग गर्नुपर्नेमा उनको जोड रहेको छ ।
त्यसैगरी कोशी प्रदेशले अब व्यक्तिवादी राजनीतिको अन्त्य गरी विचार र नीतिको राजनीतिमा जोड दिनुपर्ने धारणा कार्कीले अघि सारेका छन् । विगतमा कोशीले नेताको नाम र अनुहार हेरेर मात्र राजनीति गरेको स्मरण गर्दै उनले अब राष्ट्रिय नीतिका लागि कोशी प्रदेश आफैँले नेतृत्व लिन सक्ने र एउटा उत्कृष्ट उदाहरण बन्न सक्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।