विराटनगर । विराटनगरमा सम्पन्न अन्तर माध्यमिक जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमकस्थित इन्स्पायर इङ्लिस स्कुलले जितेको छ । जिपी कोइराला स्पोर्ट्स एकेडेमीको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको फाइनलमा सुनसरीको हाम्रो इङ्लिस बोर्डिङ स्कुल इटहरीलाई पराजित गर्दै इन्स्पायरले स्वर्ण पदक जितेको हो ।
मंगलबार भएको अन्तिम प्रतिस्पर्धामा इन्स्पायरले हाम्रो इङ्लिस स्कुललाई २५–१६, २५–१५ र २५–१२ को सोझो सेटमा स्तब्ध बनायो । निर्धारित पाँच सेटको खेलमा इन्स्पायरले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गरेको हो ।
यसअघि तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा के.यु. एकेडेमी केराबारी विजयी भएको छ । के.यु.ले मोरङ पब्लिक स्कुल बुढीगंगालाई २–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–२१ ले जितेको के.यु.ले दोस्रो सेट १६–२५ ले गुमाए पनि अन्तिम सेट २५–२१ ले जित्दै तेस्रो स्थान पक्का गरेको हो । जेठ २४ गतेदेखि २७ गतेसम्म सञ्चालित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी १३ वटा विद्यालयको सहभागिता रहेको थियो ।
विजेता टिम तथा खेलाडीहरूलाई नगद, सिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरियो । प्रथम हुने इन्स्पायर इङ्लिस स्कुलले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला कार्यवाहक सभापति भक्तिनाथ माझीले वितरण गर्नुभयो ।

दोस्रो स्थान हासिल गर्ने हाम्रो इङ्लिस स्कुललाई एकेडेमीका अध्यक्ष रन्जन थापा र पूर्व भलिबल प्रशिक्षक वीरेन्द्र चौधरीले नगद ७ हजार ५ सय रुपैयाँ प्रदान गर्नुभयो । त्यसैगरी, तेस्रो हुने के.यु. एकेडेमीलाई विराटनगर महानगरपालिका वडा नं. १० का अध्यक्ष अर्जुन गिरीले नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गर्नुभयो ।
प्रतियोगितामा इन्स्पायरका सन्वीर श्रेष्ठ ‘उत्कृष्ट खेलाडी’ घोषित भए । त्यस्तै, इन्स्पायरकै विशाल गौतम ‘उत्कृष्ट स्पाइकर’ र राजु श्रेष्ठ ‘उत्कृष्ट प्रशिक्षक’ (कोच) चुनिए । इटहरीको हाम्रो इङ्लिस स्कुलका उसन कार्की ‘उत्कृष्ट सर्भर’ र राजीव खड्का ‘उत्कृष्ट सेटर’ घोषित भए । रंगेलीको सनरे स्कुलका साहिल तबदार थारूले ‘उत्कृष्ट ब्लकर’को उपाधि जिते ।
एकेडेमीका अध्यक्ष रन्जन थापाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नेपाली कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरे, कोषाध्यक्ष रन्जु अधिकारी र हक्की संघ कोशी प्रदेशका अध्यक्ष जीवन तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।