लोड हुँदैछ...

मेनु

मोरङमा पिकअपभित्र ९२२ किलो गाँजा बरामद

मोरङमा पिकअपभित्र ९२२ किलो गाँजा बरामद

विराटनगर सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार मध्यरातमा ९ सय २२ किलो गाँजासहित एक थान पिकअप गाडी र भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

जहदा गाउँपालिका–७ स्थित महादेवकोल इलाकामा लक्ष्मनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीलाई BR 38 Z 7452 नम्बरको भारतीय मोटरसाइकलले स्कर्टिङ (सुरक्षा पहरा) गरेर लैजाँदै गरेको अवस्थामा सशस्त्रले फेला पारेको थियो । प्रहरी टोलीले पिछा गरेपछि तस्करीमा संलग्न चालकहरू गाडी र मोटरसाइकल छाडेर फरार भएका छन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म सोराभाग, बिओपी नोचा र तारेगामाको संयुक्त टोलीले नियन्त्रणमा लिएको उक्त पिकअपभित्र धानको भुसको बोराले छोपेर लुकाइएको अवस्थामा २९ पोका गाँजा फेला परेको थियो । जोख्दा उक्त गाँजा ९२२.२ किलोग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा, पिकअप र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीमा बुझाउने प्रक्रिया सुरु गरिएको छ । फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।