लोड हुँदैछ...

मेनु

ठगी अपराध

भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष पौडेललाई विचौलिया भन्दै २ घण्टा बयान !

भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष पौडेललाई विचौलिया भन्दै २ घण्टा बयान !

विराटनगर । मोरङको कानेपोखरी–६, रमाइलो बजारमा रहेको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नविन पौडेललाई जिल्ला प्रशासन कार्यालय मोरङले दुई घण्टा बयान लिएको खुलेको छ ।

कानेपोखरी ७ की विष्णुमाया गिरीले सुनचाँदी व्यवसायी होमनाथ अधिकारी, श्रीमती बाटुलादेवी अधिकारी, जेठो छोरा ध्रुव अधिकारी, छोरा मनोज अधिकारी, बुहारीहरु ममता कार्की अधिकारी र स्मीता ओझा अधिकारीसमेतलाई विपक्षी बनाउँदै जेठ ७ गते किटानी निवेदन दिएकी थिइन् । गिरीले आफ्नो २९ लाख १७ हजार रुपैयाँ अधिकारी सुनचाँदी पसलले ठगेको उजुरीमा उल्लेख गरेकी छिन् ।

सोही निवेदनको आधारमा बाटुलीदेवी अधिकारीलाई बयान लिँदा सबै हिसाव मिलाउने जिम्मा नविन पौडेलले लिएको भनेर बयान दिएको आधारमा पौडेललाई पनि बयान लिइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । पौडेलले बयानका क्रममा आफूले घटना मिलाउने जिम्मा लिएको स्वीकार गरेका छन् । ‘मैले पीडितहरुकै अनुरोधमा पीडितहरुकै न्यायका लागि विवाद मिलाउने प्रयत्न गरेको हुँ,’ उनले भनेका छन् ।

तर, जिल्ला प्रशासन कार्यालय मोरङले भने पौडेलले विचौलियाको भूमिका खेलेर पीडितहरुलाई झुलाउने प्रयास गरेको आशङ्का गरेको छ । ‘ठगीमा संलग्न परिवारको आफन्त पनि होइन । बचतकर्ता पनि होइन, जनप्रतिनिधि पनि होइन । कुनै नियामक निकायको व्यक्ति पनि नभएको हिसावले नविन पौडेलले के आधारमा ठगीको मुद्दा मिलाउन सक्छन् भन्ने प्रश्न उठेपछि हामीले बयान लिएका हौं,’ जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भने । कोइरालाका अनुसार पौडेललाई घटना नमिलेसम्म जिल्ला प्रशासन कार्यालयले बोलाएको बेला उपस्थित हुने शर्तमा छोडेको छ ।

घटनाको वास्तविकता

मोरङको कानेपोखरी–६ रमाइलो बजारमा रहेको अधिकारी सुनचाँदी पसलले २५० भन्दा बढी सर्वसाधारणको करोडौं रकम हिनामिना गरेको थियो । अहिले पनि सुन पसलमा दिएको बचत रकमको खोजीमा सर्वसाधरणहरु विभिन्न निकाय धाइरहेका छन् ।

कुनै बेला रमाइलो बजारमा विश्वासिलो पसलको रुपमा स्थापित थियो अधिकारी परिवारको सुनचाँदी पसल । तर, पछि पसलका संचालक होमनाथ अधिकारी र उनका छोरा मनोज अधिकारीलगायतको परिवारले नै मिलेर बचत रकम फिर्ता नगरी हिंडेको पीडित बताउँछन् । यस्तो रकम करिब १२ करोड भएको पीडितहरुको दाबी छ ।

ठगीमा फस्नेहरू स्थानीय व्यापारी वा केही गन्नेमान्ने पनि छन् । उनीहरु प्रशासन कार्यालय वा न्यायिक निकायमा जानुको साटो गाउँमै घटना मिलाउन लागेका थिए । उनीहरुले नै नवीन पौडेलको नेतृत्वमा ‘ऋण असुली समिति’ गठन गरेका थिए । । तर, त्यसरी घटना मिल्न नसक्ने देखिएपछि गिरीले निवेदन दिएकी थिइन् । उनको निवेदनपछि घटनामा पौडेल पनि संलग्न भएको देखिएको थियो ।

अधिकारी परिवारको तर्फबाट प्रशासन कार्यालयमा उपस्थित बाटुली देवीले आफ्नो नाममा रहेको करिब १ विगाहा जग्गा मिलाउँछु भनेर पौडेलले काशीराज थापाको नाममा लगेको बयान दिएकी थिइन् । थापाको नाममा लगेपछि उनले जग्गा विक्री गरेर पीडितलाई मिलाउने भन्दा पनि जग्गा प्लटिङ सुरु गरेका थिए । ‘सबै मिलाउँछु भनेर नविनले मेरो जग्गा अर्कैको नाममा पास गरिदियो । अहिलेसम्म मिलेन खै किन नमिलेको हो थाहा छैन,’ उनले बयानका क्रममा भनेकी छिन् ।

उता, पौडेलले भने थापाको नाममा आएको जग्गा प्लटिङ गरेर पीडितलाई चलेको मूल्य भन्दा बढीमा विक्री गर्न खोजेपछि पीडितहरुले असन्तुष्टि व्यक्त गरेका थिए । पौडेलले जिल्ला प्रशासन कार्यालयले लिएको बयानमा पनि उक्त जग्गा प्लटिङ भएको स्वीकार गरेका छन् । यही समिति र यसका अगुवा नवीन पौडेलले अधिकारी परिवारको जग्गा किनबेचमा अस्वभाविक चासो देखाएपछि प्रशासन कार्यालयले उनलाई झिकाएको स्रोतले बतायो ।

उता, पौडेलले निवेदक गिरीलाई भने ‘अरुको पैसा दिएपनि तेरो पैसा कुनै हालतमा दिँदिन’ भन्दै धम्काएका थिए । त्यति मात्रै नभइ आफूलाई ‘झुण्डिएर मर’ समेत भनेको गिरीले बताइन् । जिल्ला प्रशासन कार्यालयले बयान लिइसकेपछि प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई पौडेलले अधिकारीको इटहरीमा भएको जग्गाको वारेर लिने वातावरण मिलाइदिन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी कट्टेलले भने पौडेललाई आफूले मिलाउने भनेको घटनाको जिम्मा प्रशासनलाई नदिन भन्दै आफैं मिलाउन चेतावनी दिएका थिए ।

उता, कानेपोखरी गाउँपालिकाको न्यायिक समितिमा पनि यो विषयमा उजुरी परेको थियो । तर, उपाध्यक्ष भोला अधिकारीले ठगीको मुद्दा न्यायिक समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै कुनै ठोस निर्णय दिएनन् । उनले मुद्दाको अनुसन्धानको लागि अर्को न्यायिक निकायमा पनि पठाएनन् । ‘पीडितहरूले निवेदन दिएका थिए । हामीले न्यायिक समितिमा छलफल पनि गरायौँ । तर पछि उहाँहरू आफैँले समिति बनाएर अघि बढ्नुभयो । अहिले के भइरहेको छ, विस्तृतमा थाहा छैन,’ उपाध्यक्ष अधिकारीले भने । तर, गिरीले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमाथिको छलफलमा भने अधिकारीले दबाब दिन खोजेको स्रोत बताउँछ । छलफलको क्रममा बाटुलीदेवीको फोनमा कुरा गर्दै उपाध्यक्ष अधिकारीले प्रहरी अधिकारीलाई ‘हामी गाउँमै मिलाउने प्रयासमा छौं’ भनेका थिए ।

पीडितको विपक्षमा लविङ गर्दै नेताहरू

उता, पीडित गिरीले दिएको निवेदनमाथि एक्सन लिने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालयमा मोरङका एमाले नेताहरुले भने दबाब दिने प्रयास गरेका छन् । मंगलबार पौडेलको बयान लिनुभन्दा अघिल्लो दिन ५० औं नेताहरु जिल्ला प्रशासन कार्यालय मोरङ घेराउमा आएका थिए । जसमा एमाले मोरङका उपाध्यक्ष सागर थापा, एमालेका प्रदेश सदस्य ताराबहादुर काफ्ले, कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी, कानेपोखरीका एमाले अध्यक्ष सुशील बुढाथोकी, पालिकाको ६ र ७ नम्बर वडाका अध्यक्षहरु क्रमशः खड्ग बस्नेत र मोहन अधिकारी, एमाले नेता दानबहादुर बस्नेतलगायत थिए । पौडेललाई जिल्ला प्रशासन कार्यालयमा झिकाउने पत्र पठाएपछि उनीहरु प्रशासन कार्यालयलाई दाबब दिन आएका थिए । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले समय नदिएपछि उनीहरू सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई भेटेर फर्किएका थिए ।

अधिकारी परिवारको नालीबेली

होमनाथ अधिकारी र बाटुलीदेवी अधिकारीका दुइ छोरा र एक छोरी छन् । जसमध्ये छोरा जेठा ध्रुब अधिकारी र कान्छा मनोज अधिकारी हुन् । उनकी एक विवाहित छोरी मुना अधिकारी हुन् । जेठो छोरा ध्रुव अधिकारी र उनकी श्रीमती ममता कार्की अमेरिका बस्दै आएका छन् । कान्छो छोरा मनोज अधिकारी र उनकी श्रीमती स्मिता अधिकारी हुन् ।

होमनाथ र बाटुलीदेवी अधिकारीको नाममा कानेपोखरी ६ रमाइलो बजारमा ‘शुभलक्ष्मी अधिकारी सुनचाँदी’ नामक व्यवसाय २० वर्ष अगाडिदेखि संचालित थियो । छोरा बुहारी मनोज अधिकारी र स्मीता अधिकारी उक्त व्यवसायमा बिगत १३ वर्षदेखि संलग्न रहेको थिए । उक्त व्यवसायमा उनीहरुले सुनचाँदी धितो राखी रकम दिने र महँगो दरमा व्याज असुल गर्ने, सुनचाँदीका गरगहनाहरु बनाउने, मनि ट्रान्सफर गर्ने जस्ता कार्यहरु गर्दै आएका थिए । होमनाथ अधिकारी, बाटुलीमाया अधिकारी बिदेश जाने आउने गर्दथे । मनोज अधिकारी र स्मीता अधिकारी भने बैदेशिक रोजगारीमा रहेका र बृद्ध भत्ता प्राप्त गर्ने, अशिक्षित महिलाको घर पहिचान गरी आफूहरुकोमा दैनिक, मासिक तथा ऐच्छिक बचत गरेमा आकर्षक व्याज उपलब्ध गराउने, निश्चित समयमा पाएको व्याजलाई सावाँमा गाभी व्याजको ब्याज समेत उपलब्ध गराउने, आफुहरुसँग सुनचाँदी व्यवसायी संघबाट आकर्षक स्किम प्राप्त भएको भन्दै बचत संकलन गर्दथे । उनहरुले सुरु–सुरुमा रकम जम्मा गर्ने व्यक्तिहरुलाई पासबुक उपलब्ध गराएका थिए । तर, पछि दैनिक, मासिक तथा ऐच्छिक रुपमा बचत गर्ने व्यक्तिलाई प्रलोभन तथा डर देखाई पासबुक फिर्ता मागेर प्रमाण नष्ट गरे । यद्यपि अधिकारी दम्पत्तीले डायरीमा रकम भने उल्लेख गर्ने गर्दथे ।

पासबुकमा ब्याज पाएको रकम सावाँमा गाभी होमनाथ अधिकारी, मनोज अधिकारी र स्मीता अधिकारीले दस्तखत गरेर पीडितलाई दिने गर्दथे । लामो समय भएपछि रकम फिता नपाएपछि सोधिखोजी सुरु भयो । तर, चाँडै रकम फिर्ता गर्छु भनेर अधिकारी दम्पत्तीले भन्न छोडेनन् । ‘हामीलाई लामो समयदेखि सावाँ र व्याज फिर्ता नगरेकाले रकम फिर्ताको माग गर्दै हामी गयौं । त्यसपछि थाहा भयो हामी डुबेका रहेछौं,’ पीडित पर्शुराम फुयालले भने ।

त्यहीबीचमा पनि जेठो छोरा धुव्र अधिकारी र जेठी बुहारी ममता कार्कीलाई भेटघाट गर्न भन्दै होमबहादुर र बाटुलीदेवी पटक पटक अमेरिका जाने आउने गर्दथे । अमेरिका जाँदा र कान्छा छोरा मनोज अधिकारी र स्मीता अधिकारीले समेत चारै जनाले हुण्डिमार्फत रकम अमेरिका पुर्याएको हुनसक्ने पीडितको दाबी छ । बाटुलीमाया अधिकारीको माइतीपक्ष, जेठी बुहारी ममता कार्कीको माइती पक्ष, कान्छी बुहारी स्मीता अधिकारीको माइती पक्ष र छोरी ज्वाई क्रमशः मुना अधिकारी र बाबासिंहलाई समेत नगदै रकम उपलब्ध गराएको तथा माईती र छोरी ज्वाईको नाममा समेत घरजग्गा खरिद गरेको पीडितहरू दाबी गर्छन् । रकम माग्दा नतिरेपछि होमनाथ अधिकारी र बाटुलीमाया अमेरिका भागेका थिए । हाल बाटुलीमाया अधिकारी कानेपोखरी ६ को रमाइलो बजारमा रहेको घरमै छिन् । छोरा मनोज अधिकारी सम्पर्कबिहीन छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।