विराटनगर । साताको मध्य कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। लगातार चार कारोबार दिन ओरालो लागेको बजारमा यस दिन भने सुधार देखिएको हो।
बुधबार नेप्से परिसूचक २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेको छ। फ्लोट इण्डेक्स ०.१२ अंकले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेको छ।
परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ। मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ३५६ वटा कम्पनीको ४९ हजार २४८ पटकको कारोबारमार्फत ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँ बराबरको ९२ लाख ८३ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब ११ प्रतिशतले बढ्दा बुंगल हाइड्रोको मूल्य करिब ७ प्रतिशतले उकालो लागेको छ। यता १०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा धेरै ८.७१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम पनि २० करोड रुपैयाँ नाघ्दा सिटी होटलको करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
उपसमूहतर्फ १३ मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन तथा म्युचुअल फण्ड समूहमा हरियाली देखिएको छ। घटेका सबै उपसमूहको गिरावट भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।