विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज जारी कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेश सभापति पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आकांक्षीहरूको संख्या बढेसँगै नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना टरेको नेताहरुले बताएका छन् ।
अधिवेशनमा सभापतिका लागि ८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । अधिवेशन सम्पन्न गराउन नवराज पुडासैनीको संयोजकत्वमा निर्वाचन समिति बनेको छ ।
बुधबार मोरङको विराटचौकमा सुरु भएको अधिवेशनमा सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, वीरेन्द्र श्रेष्ठ, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले सभापति पदमा उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार प्रदेश समिति सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको छ।
रास्वपाको विधानअनुसार कोशी प्रदेश कार्यसमिति ६१ सदस्यीय हुनेछ। अधिवेशनबाट सभापति चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ।
प्रदेशको नेतृत्वका लागि वर्तमान कार्यवाहक सभापति सरिन तामाङ र प्रदेश कोषाध्यक्ष चन्द्र राईलाई बलिया दाबेदारका रूपमा हेरिएको छ। यस्तै केन्द्रीय उद्योग विभागका सदस्य पारशमणि गेलाल र सहकारी विभागका उपप्रमुख चन्द्रकुमार गौली पनि बलिया उम्मेदवार रहेको प्रतिनिधिहरुले बताएका छन् ।
रास्वपाले हालै कोशी प्रदेशका १४ वटै जिल्लामा अधिवेशन तथा जिल्ला भेला सम्पन्न गरेपछि प्रदेश नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो। जिल्लास्तरमा अधिकांश स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन भएकाले प्रदेश अधिवेशनमा पनि प्रतिस्पर्धात्मक चुनाव हुने संकेत देखिएको छ।
अधिवेशनमा प्रदेशभरबाट आएका प्रतिनिधिहरूले पहिलो चरणमा सभापति र सदस्य चयन गर्नेछन्। त्यसपछि दोस्रो चरणमा निर्वाचित सदस्यहरूमध्येबाट अन्य पदाधिकारी छनोट गरिनेछ। रास्वपाले अधिवेशनमा करिब एक हजार प्रतिनिधिको सहभागिता रहने जनाएको छ।
कोशी प्रदेश कार्यसमितिमा सभापति, उपसभापति, महामन्त्री, दुई जना सहमहामन्त्री (फरक लिंग), कोषाध्यक्ष र प्रवक्ता रहने व्यवस्था छ । अधिवेशनले कोशी प्रदेशमा रास्वपाको भविष्य र संगठनको स्वरूप कस्तो हुनेछ भन्ने कुराको फैसला गर्नेछ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।