विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी संसद् अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। सिंहदरबारस्थित संसद्को कार्यव्यवस्था परामर्श समितिको हलमा जारी बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेता तथा प्रमुख सचेतक सहभागी छन्।
प्रधानमन्त्री शाहले संसद्मा ‘नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसलाई सच्याउन वा संसद्को अभिलेखबाट हटाउन माग गर्दै लगातार सदन अवरुद्ध गर्दै आएका छन्। यही विषयमा सहमति खोज्न सर्वदलीय छलफल गरिएको हो।
छलफलमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेकपाका वर्षमान पुनलगायत विभिन्न दलका नेताहरू सहभागी छन्। यसअघि पनि जेठ २५ गते रास्वपा नेतृत्वले सरकारका कामकारबाही तथा भारत भ्रमणबारे विपक्षी दलसँग परामर्श गरेको थियो।
उता, बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको छ। संघीय संसद् सचिवालयले विशेष कारणवश बैठक समय परिवर्तन गरिएको जनाएको छ।
पछिल्लो समय प्रतिनिधिसभाका बैठकहरू नियमित रूपमा ढिलो सुरु हुने क्रम बढ्दै जाँदा सांसदहरूबाट असन्तुष्टि व्यक्त हुन थालेको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित हुने अवस्था दोहोरिन थालेपछि संसद्को प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा संसद्को नियमित कामकारबाही प्रभावित हुँदै आएको छ। आजको सर्वदलीय बैठकले सदनको अवरोध अन्त्य गर्ने वातावरण बनाउने अपेक्षा गरिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।