विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीमा रहेको विज्ञान फार्मेसीलाई औषधी व्यवस्था विभागले शिलबन्दी गरेको छ ।
विराट मेडिकल कलेज अगाडि सञ्चालित उक्त फार्मेसीले बिरामीलाई म्याद गुज्रिएको औषधी बिक्री गरेको र मनोद्विपक औषधीको उचित अभिलेख नराखेको पाइएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो ।
औषधी व्यवस्था विभाग विराटनगर शाखाको टोलीले गरेको अनुगमनका क्रममा सो फार्मेसीले गम्भीर लापरबाही गरेको फेला पारेको थियो । विभागका सूचना अधिकारी एवं फार्मेसी निरीक्षक दिपेन्द्र खड्काका अनुसार, फार्मेसीले बिरामीलाई म्याद नाघेको ‘डेप्सिन’ नामक स्टेरोइड औषधी बिक्री गरेको उजुरी परेपछि अनुगमन गरिएको थियो ।
‘अनुगमनका क्रममा म्याद नाघेका औषधीहरू बिक्री वितरण भइरहेको र अत्यन्त संवेदनशील मानिने मनोद्विपक औषधीहरूको खरिद बिक्रीको कुनै रेकर्ड नराखेको पाइयो,’ निरीक्षक खड्काले भने, ‘नियमविपरीत सञ्चालन भएको पाइएपछि हामीले तत्कालका लागि फार्मेसी शिलबन्दी गरेका छौँ ।’
बबिता कार्कीको नाममा दर्ता रहेको उक्त फार्मेसीले औषधी ऐनको प्रावधानविपरीत कारोबार गरेको विभागको ठहर छ । अनुगमनका क्रममा फार्मेसीले म्याद सकिएका औषधीहरू छुट्टै राख्नुपर्नेमा बिक्रीका लागि राखेको र रेकर्डहरू दुरुस्त नभएको पाइएको थियो ।
विभागले औषधी ऐन २०३५ बमोजिम फार्मेसी सञ्चालकलाई थप अनुसन्धान र कारबाहीको दायरामा ल्याउने जनाएको छ । म्याद गुज्रिएको औषधीको सेवनले बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विभागले यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।