विराटनगर । विराटनगर महानगरपालिकाको सबैभन्दा ठूलो भूगोल र धेरै अविकसित बस्तीहरु भएको वडा नं.४ मा पछिल्लो चार वर्षमा भौतिक र सामाजिक विकासका गतिविधिहरुमा सकारात्मक परिर्वतनहरु देखिएका छन् । त्यति हुँदाहुँदै पनि वडाका धेरै बस्ती र क्षेत्रहरूलाई विकासको गतिले समेट्न सकेको छैन ।

यस अवधिमा करिब ६ किलोमिटर सडक कालोपत्रे भएको छ भने वडाका हजारौँ भित्री सडकहरू अझै पनि स्तरोन्नतिको पर्खाइमा छन् । सीमित बजेटका कारण वडाको एक्लो प्रयासले मात्र विकास सम्भव नभएपछि वडाध्यक्ष जितन थापाले प्रदेशसभा सदस्य जीवन आचार्य र प्रदेश सरकारका तत्कालीन मन्त्रीहरू गणेश उप्रेती (सुशील), इन्द्रबहादुर आङ्बोलगायतको समन्वयमा ठूला योजनाहरू ल्याएर विकासको काम अगाडि बढाइरहेका बताएका छन् ।
वडा भवनदेखि सामाजिक सुरक्षासम्म
विगतमा भाडाको साँघुरो घरबाट सेवा दिँदै आएको वडा कार्यालयले अहिले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको छ । करिब १ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण भएको दुईतले पक्की भवनबाट अहिले नागरिकले सहज रूपमा सेवा पाइरहेका छन् । भवन अभावकै कारण भाडामा बस्नुपरेको स्वास्थ्य चौकीलाई पनि अहिले वडाकै भवनमा सारिएको छ, जसले गर्दा स्वास्थ्य सेवा लिन आउने स्थानीयलाई सजिलो भएको छ ।

विकास भनेको बाटो र भवन मात्र होइन भन्ने मान्यताका साथ वडाले सामाजिक क्षेत्रमा पनि लगानी गरेको छ । विशेष गरी गरिबीको रेखामुनि रहेका सुत्केरी महिलाहरूका लागि वडाले ‘पोषण प्याकेज’ कार्यक्रम ल्याएको छ । अध्यक्ष जितन थापा भन्छन्, ‘सुत्केरी अवस्थामा पोषणको अभाव नहोस् भनेर हामीले चामल, अण्डा, घ्यू र कुखुरासहितको १५ दिनलाई पुग्ने खाद्य सामग्री दिने गरेका छौँ । यसले विपन्न परिवारका आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुगेको छ ।’ यस कार्यक्रमका लागि वडाले गत वर्ष १ लाख ५० हजार र यस वर्ष २ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
शिक्षातर्फ पनि वडाले केही सुधारका प्रयास गरेको छ । खार्जीमा रहेको जीर्ण विद्यालयमा कम्पाउण्ड वाल निर्माण गरिएको छ भने विद्यार्थीलाई विद्यालयमै खाजाको व्यवस्था मिलाएको छ । विपन्न अभिभावकहरूलाई आत्मनिर्भर बनाउन रोटरी क्लबसँगको समन्वयमा सिलाई मेसिन र ७२ वटा चापाकल वितरण गरिएको छ । यस्तै, कञ्चनबारीको आधारभूत विद्यालयलाई यसै अवधिमा माध्यमिक विद्यालय (मावि) मा स्तरोन्नति गरिएको छ । विद्यालयको स्तरोन्नतिपछि सो क्षेत्रका विद्यार्थीलाई टाढा जानुपर्ने बाध्यता हटेको छ ।

यस्तै केशलिया खोला किनारमा शव दाहस्थल निर्माण गरी व्यवस्थित घाट बनाउने काम पनि आफ्नै कार्यकालमा सुरु गरेको वडाध्यक्ष थापाले बताए । विकासमा पछि परेको वडाका पश्चिमी र भित्री क्षेत्रबाट आफूले विकासको कामलाई प्राथमिकता दिएर अगाडि बढाएको र अहिले पश्चिमका इक्राही, ज्वाला टोल, उत्तरको गोपी टोल, ढाट, खार्जी आदि क्षेत्रमा पनि विकास पुगेको उनको भनाइ छ ।
ठूलो भूगोलका कारण विकासका चुनौती र बाँकी काम
विराटनगर ४ क्षेत्रफलका हिसाबले अत्यन्तै ठूलो छ । वडाको तथ्याङ्क अनुसार यहाँ साना–ठूला गरी ३ हजार ३ सय ३७ वटा सडकहरू छन् भने बिजुलीका पोलहरू मात्रै ४ हजार ४ सय वटा छन् । यति धेरै सडक र विद्युत कभरेड क्षेत्र भएको वडालाई व्यवस्थित बनाउन बजेटको ठूलो अभाव रहेको देखिन्छ ।

अहिले मुख्य राजमार्गसँग जोडिएका ११ वटा सडकहरू र अन्य केही भित्री सडक गरी करिब ६ किलोमिटर बाटो कालोपत्रे भएको छ । जसमा धाडदेखि खागजीसम्मको पुरानो बाटो, रामजानकी टोल र सप्तकोशी टोलका बाटाहरू मुख्य छन् । तर, अझै पनि ३ हजारभन्दा बढी भित्री सडकहरू कच्ची नै छन् । वडाध्यक्ष थापाका अनुसार कतिपय ठाउँमा ग्राभेल र रिटेनिङ वाल लगाएर बाटोलाई ‘हिलोमुक्त’ बनाउने प्रयास भए पनि त्यो पूर्ण हुन सकेको छैन । उनी भन्छन्, ‘हाम्रो वडा एउटा सानो नगरपालिका जत्तिकै ठूलो छ । १ करोडको बजेटले त यहाँका सडकमा ग्राभेल गर्न पनि पुग्दैन । त्यसैले हामीले प्रदेश र केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था छ ।’

भौतिक पूर्वाधार बाहेक खानेपानी र शिक्षामा अझै धेरै काम गर्न बाँकी छ । वडाको आधाजसो भूभागका वासिन्दाले अहिले पनि शुद्ध खानेपानीका लागि चापाकल (भूमिगत पानी) कै भर पर्नुपरेको छ । पाइपलाइन विस्तार गरेर घर–घरमा खानेपानी पुर्याउन ठूलो लगानीको आवश्यकता छ । त्यस्तै, विद्यालयहरूको भवन र भौतिक पूर्वाधारमा सुधार गरिए पनि आधुनिक प्रयोगशाला र पर्याप्त शिक्षकको दरबन्दी अझै पुग्न सकेको छैन ।

अध्यक्ष थापाका अनुसार कञ्चन–केशल्या मार्ग र बस्ता मार्ग जस्ता ठूला सडक आयोजनाहरू प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेका छन् । यी योजनाहरू सम्पन्न भएमा वडाको यातायात सहज हुनेछ । यद्यपि, विशाल भूगोल भएका कारण सबै बस्तीमा समान रूपमा विकास पुर्याउनु र हजारौँ सडकलाई कालोपत्रेमा बदल्नु वडाका लागि आगामी दिनमा पनि मुख्य चुनौती नै रहने देखिन्छ । वडाबासीहरूले भने भित्री बस्तीका कच्ची सडकहरूको स्तरोन्नति र खानेपानीको समस्यालाई प्राथमिकतामा राख्न माग गर्दै आएका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।