विराटनगर । लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाएको आरोपमा विराटनगरबाट १३ चालकसहित १४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको ‘लागुऔषधविरुद्धको महाअभियान’ अन्तर्गत सोमबार गरिएको विशेष जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
विराटनगर महानगरपालिका–१६ स्थित नेपाल–भारत सीमा क्षेत्र नजिक गरिएको जाँचमा १२ जना सिटी सफारी चालक, एक जना अटो टेम्पो चालक र एक जना पैदलयात्रीको रिपोर्ट ‘पोजिटिभ’ आएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले शंकास्पद व्यक्ति तथा सवारीसाधनमाथि निगरानी बढाएको थियो ।
मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा विराटनगर–४ का बासुदेव उराउ, विराटनगर–५ का कालुराम पासवान र सञ्जय पासवान, विराटनगर–६ का राहुल सहनी, सुमन सुनार र अनिराज बास्फोर रहेका छन् ।
त्यस्तै, विराटनगर–११ का सुनीलप्रसाद नेपाली, विराटनगर–१३ का विवेक महतो, विराटनगर–१४ का वीरु खत्वे, विराटनगर–१६ का श्रवण सहनी तथा विराटनगर–१७ का प्रदीप खड्का पनि प्रहरी नियन्त्रणमा परेका छन् । यसैगरी, मोरङको बुढीगंगा–२ का सन्तोष साह, बेलबारी–११ का सुकुम लिम्बू र सुनसरीको इटहरी–५ का पैदलयात्री ईश्वर डाँगी पक्राउ परेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले लापसे गरेर सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम उच्च हुने भएकाले सीमा क्षेत्र र मुख्य सडकहरूमा कडाइ गरिएको बताए । उनले लागुऔषध सेवन तथा ओसारपसार नियन्त्रणका लागि जिल्लाभर यो अभियान निरन्तर सञ्चालन हुने जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।