लोड हुँदैछ...

मेनु

विराटनगर विमानस्थल भित्रको ब्रह्मलुटमाथि प्रशासनको डन्डा : ४ पसललाई १२ लाख रुपैयाँ जरिवाना

विराटनगर विमानस्थल भित्रको ब्रह्मलुटमाथि प्रशासनको डन्डा : ४ पसललाई १२ लाख रुपैयाँ जरिवाना

विराटनगर । विराटनगर विमानस्थल भित्र सञ्चालित पसलहरूले यात्रुसँग अंकित मूल्य भन्दा अत्यधिक बढी मूल्य असुल गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले १२ लाख रुपैयाँ जरिवाना गरेको छ। विमानस्थल भित्रका होटल तथा क्याफेहरूले सामानमा तोकिएको मूल्यभन्दा दोब्बर–तेब्बर बढी लिने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटलले १०० रुपैयाँ पर्ने डेरी मिल्क चकलेटलाई २०० रुपैयाँमा बिक्री गरेको पाइएको छ। त्यसैगरी, क्यान्टिन कक्षमा सञ्चालित ग्यालेक्सी क्याफे एण्ड होटल प्रालिले ५० रुपैयाँ पर्ने कोकलाई १६० रुपैयाँमा बिल काटेर बेचेको भेटिएको छ। विमानस्थल परिसरकै गरिमा क्याफेले ५० रुपैयाँको कोकलाई ८० रुपैयाँ र अनुकुल होटल एण्ड भान्छा घरले ८ रुपैयाँ पर्ने चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको पाइएको छ।

अंकित मूल्य भन्दा अत्यधिक बढी मूल्यमा सामग्री बिक्री गर्ने चारवटै पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) को कसुरमा सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख)बमोजिम जनही ३ लाखका दरले जरिवाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सारोज कोइरालाले जानकारी दिए । कारबाही स्वरूप चार पसलबाट कुल १२ लाख रुपैयाँ जरिवाना संकलन गरिएको छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख हितेस बस्नेत, जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर बेनु कुमार कार्की र उपभोक्ता हित संरक्षण मञ्च कोशी प्रदेशका कोषाध्यक्ष विनोद सुवेदी लगायत अन्य कर्मचारीको सहभागिता रहेको थियो। प्रशासनले उपभोक्ता ठग्ने यस्ता पसलहरूलाई आगामी दिनमा पनि कडा निगरानीमा राख्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds