विराटनगर । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा वृहत एकता भेलाको तयारी गरेको छ । काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षधरले जेठ ३१ गतेका लागि विराटनरको होटल मनास्लु बुक गरेको छ ।
डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्यमा हुने यो कार्यक्रममा डाक्टर शशांक कोइराला, कृष्ण सिटौला, विजयकुमार गच्छदार, डाक्टर मिनेन्द्र्र रिजाल, एनपी साउद, राजिब कोइरालालगायतका पूर्व समितिमा बसेका केन्द्रीय सदस्यहरु र हाल समितिमा बसेका एक–दुई जना केन्द्रीय सदस्यहरुसहित सहभागी हुने काँग्रेस विराटनगरका सभापति दिपक चापागाईंले बताए । ‘यो पार्टी चाहिँ एक बनाऔं भन्ने उद्देश्यले गरिन लागिएको भेला हो,’ चापागाईंले भने, ‘दुवै पक्षलाई एकै ठाउँमा ल्याउने योजना अनुरुप नै हो यो ।’
यद्यपि यो कार्यक्रमबारे संस्थापन पक्षलाई भने जानकारी नभएको बताइएको छ । ‘हामीलाई यो कार्यक्रमबारे आधिकारिक जानकारी छैन,’ काँग्रेसका प्रदेश सभापति उद्धब थापाले भने, ‘कुनै औपचारिक च्यानलबाट मलाई जानकारी आएको छैन ।’
तर, विराटनगर महानगरसमितिका सभापति चापागाईंले भने प्रदेश समितिकै ब्यानरमा कार्यक्रम गर्न लागिएको बताए । ‘नेपाली कांग्रेसको कार्यक्रम गर्नलाई केन्द्रीय समितिको अनुमति लिइरहनु पर्दैन । प्रदेश कमिटीले गर्ने भएपछि त प्रदेश समितिले गरिहाल्छ,’ पार्टीको आधिकारिक लाइनबाटै कार्यक्रम गर्न लागिएको हो ? भन्ने प्रश्नमा चापागाईंले भने, ‘पालिकाले चाह्यो भने पनि केन्द्रीय स्तरका नेताहरुलाई बोलाएर पालिकाको ब्यानरमा गर्न सक्छ । त्यसको लागि अनुमति चाहिँदैन । पार्टी एक बनाउने कुरामा त कसैको अनुमति चाहिने कुरै भएन नि ! पार्टी मिलाएर लगौं, पार्टीलाई एकताबद्ध बनाएर लगौं, संगठन बलियो बनाएर जाऔं, सबैजना मिलौं, किचलो नगरौं भन्ने कुरा मात्रै हो ।’
काँग्रेस इतर पक्षका एक नेताले विराटनगरको भेलाबाट संस्थापन पक्षलाई विपक्षीहरु एकताबद्ध भएको सन्देश दिन लागिएको बताए । हालसम्मका भेला तथा बैठकहरुमा काँग्रेसको शेखर कोइराला, विजय गच्छदार, कृष्ण सिटौला र डा. शशांक कोइरालालगायतका नेताहरु एउटै मञ्चमा सहभागी भएका थिएनन् । ‘यो देशभरमा पहिलो पटक हुन लागेको हो,’ ती नेताले दाबी गरे, ‘यो पार्टीलाई एकलौटी अगाडि बढाउने प्रयास विरुद्धको एकीकृत अभियान पनि हो ।’ उनका अनुसार सभापति गगन थापा पक्षधरले आफूहरुले उठाएको सदस्यताको पुनः नवीकरणको विषयमा एकलौटी अगाडि बढेर महाधिवेशनको बाटोमा लागे अर्को बाटो समात्ने दाबी पनि गरे । ‘पार्टी मिलाउन दबाब दिने उद्देश्य हो । मिल्दै मिलेन भने अर्को पार्टी बनाउने अभियान पनि हो,’ ती नेताले भने ।
नेपालमा जहानियाँ राणा शासन र निर्दलीय पञ्चायतविरुद्धको आन्दोलनको शंखघोष गर्ने नेपाली काँग्रेसको उद्गम थलो विराटनगर नै हो । त्यही भएर विराटनगरबाटै सभापति थापालाई सन्देश दिने तयारी गरेको इतर पक्षको दाबी छ ।
गत वैशाख ९ गते काँग्रेसले सुरु गरेको जरा अभियान अन्तर्गतको समीक्षा बैठकमा सभापति गगन थापाको प्रस्तुति क्रियाशिल सदस्यता नविकरणमै जोड दिएका थिए । समीक्षा बैठक भनिए पनि सभापति गगन थापा, उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल, गुरुराज घिमिरेलगायतका नेताहरूले अभियानको समीक्षाभन्दा बढी ‘क्रियाशील सदस्यता नवीकरण’ का विषयमा समय खर्चिएका थिए ।
त्यसक्रममा थापाले काँग्रेसलाई भोट नहाल्नेहरूको कुनै पनि हालतमा सदस्यता कायम राख्न नसकिने भन्दै कडा अभिव्यक्ति दिएका थिए । नागरिकबाट चुनावमा अपेक्षित अनुमोदन नपाएको झोक नेतृत्वले तल्लो तहका इमान्दार कार्यकर्तामाथि पोखेको भन्दै त्यसको इतर पक्षले भने तीव्र आलोचना गरिरहेको छ ।
यही असन्तुष्टिलाई संगठित गर्न गत वैशाख २९ गते विराटनगरको होटल बिगमा काँग्रेस संस्थापन इतर पक्षले कोशी प्रदेशस्तरीय बृहत् भेला तथा छलफल आयोजना ग¥यो । विशेष महाधिवेशनपछि जिम्मेवारीविहीन बनाइएका नेताहरूलाई समेटेर इतर पक्षले यो काउन्टर भेला गरेको थियो । भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, पूर्व मुख्यमन्त्री केदार कार्की, मन्त्री भीम पराजुलीदेखि लिएर लक्ष्मी खतिवडा, सीता खतिवडा, सुनिता गच्छदार लगायतका नेताहरूको उपस्थिति थियो ।
त्यसलाई नै निरन्तरता दिँदै काँग्रेसको इतर पक्षले जेठ ७ गते (बिहीबार) विराटनगरमा एउटा भेला राख्यो । भेलामा विराटनगरका अधिकांश वडा सभापतिहरु र नेताहरुको बाक्लो सहभागीता थियो । कांग्रेस विराटनगर सभापति दिपक चापागाईंको नेतृत्वमा बसेको भेलाले क्रियाशील सदस्यता अद्यावधिक (इन्ट्री) नगर्ने निष्कर्ष निकालेको थियो ।
भेलामा वडा सभापतिहरूदेखि लिएर प्रदेश महामन्त्री भुपेन्द्र राई, पूर्व केन्द्रीय सदस्य भीम पराजुली, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, जिल्ला उपसभापति नागेश कोइराला, सचिव मोदराज घिमिरे, क्षेत्रीय सभापतिहरु र महानगर समितिका पदाधिकारीको उपस्थिति थियो ।
यस्तै गएको जेठ २२ गते नेपाली कांग्रेस मोरङको जिल्ला पार्टी कार्यालयमा क्रियाशील सदस्यता नवीकरणको विषयमा भएको छलफलमा विवाद भएपछि काँग्रेसकी सह–महामन्त्री डीना संग्रौलाविरुद्ध नारावाजी भएको थियो । नगर सभापति चापागाईंका अनुसार वडा सभापतिहरूको जिम्मेवारी खोसिएर अर्कै मानिसलाई सदस्यता नवीकरण गर्न दिएको विषयमा वडाध्यक्षहरुले आक्रोश व्यक्त गरेका थिए । क्रियाशील सदस्यता कति अध्यावधि भयो र कति बाँकी छ भन्ने समीक्षा गर्न बोलाइएको बैठक कार्यकर्ताको विरोधका कारण बैठक नै बस्न सकेको थिएन ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।