लोड हुँदैछ...

मेनु

कोशीमा रास्वपाको जिल्ला अधिवेशन सकियो, अधिकांश जिल्लामा चुनावी प्रतिस्पर्धा

कोशीमा रास्वपाको जिल्ला अधिवेशन सकियो, अधिकांश जिल्लामा चुनावी प्रतिस्पर्धा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोश प्रदेशका सबै १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास अधिकांश जिल्लामा असफल भएपछि धेरैजसो जिल्लामा निर्वाचनमार्फत जिल्ला कार्यसमिति चयन गरिएको छ ।

प्रदेशका १४ जिल्लामध्ये सङ्खुवासभा, पाँचथर र ओखलढुङ्गामा मात्रै जिल्ला नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ, पाँचथरमा प्रकाश गुरुङ र ओखलढुङ्गामा कृष्णबहादुर थापा जिल्ला सभापतिमा सर्वसम्मत भए ।

सोलुखुम्बुमा नारायणकाजी कार्कीको नेतृत्वमा पदाधिकारीहरू निर्विरोध चयन भएपनि नेतृत्व चयन प्रक्रिया अपेक्षाकृत सहज बनेको थियो। सुगम तथा बढी प्रतिनिधि रहेका जिल्लाहरूमा भने नेतृत्वका लागि कडा प्रतिस्पर्धा देखियो।

मोरङमा संस्थापक सभापति भरत कँडेल पुनः निर्वाचित भए भने सुनसरीमा प्रतिनिधि विवाद र तनावबीच सम्पन्न निर्वाचनबाट सागर दाहाल जिल्ला सभापति बने। सुनसरीमा सचिव राजारामकुमार मेहता र सहसचिव योगेन्द्र गिरी निर्विरोध चयन भएका थिए।

उदयपुरमा भएको प्रतिस्पर्धात्मक निर्वाचनमा चित्रकुमार कार्की जिल्ला सभापतिमा निर्वाचित भए। खोटाङमा मुकुन्दकृष्ण थापाले डा.राजकुमार राईलाई पराजित गर्दै नेतृत्व हात पारे। झापामा ओमनाथ भण्डारी, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्याम भुजेल, धनकुटामा भुवनकुमार तामाङ, इलाममा दिनेशकुमार महत तथा ताप्लेजुङमा राजनकुमार गुरुङ जिल्ला सभापति भएका छन्।

अधिवेशनका क्रममा अधिकांश जिल्लामा सर्वसम्मतिको प्रयास भएपनि नेतृत्व आकांक्षी धेरै भएपछि निर्वाचन नै प्रमुख विकल्प बनेको रास्वपाका नेताहरू बताउँछन्। पार्टीभित्र संस्थापन पक्ष, बालेन शाह निकट समूह तथा विवेकशील साझा पृष्ठभूमिका नेताहरूबीच प्रतिस्पर्धा देखिएको उनीहरूको भनाइ छ।

जिल्ला अधिवेशनहरू सम्पन्न भएसँगै रास्वपाले अब प्रदेश अधिवेशनको तयारी तीव्र बनाएको छ। प्रदेश अधिवेशन बुधबारका लागि तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds