विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध भएको छ।
विपक्षी दलहरूले उक्त अभिव्यक्ति सच्याउन वा संसद्को रेकर्डबाट हटाउन माग गर्दै अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा भारत–नेपाल सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। उनको यही भनाइलाई लिएर प्रमुख प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले आपत्ति जनाएका छन्।
विपक्षी दलहरूको भनाइमा प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता र सीमासम्बन्धी संवेदनशील विषयमा तथ्य र प्रमाणबिना अभिव्यक्ति दिएको भन्दै त्यसको पुष्टि गर्नुपर्ने अथवा संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन्। उनीहरूले प्रधानमन्त्री स्वयंले सदनमा आएर धारणा सच्याउनुपर्ने अडानसमेत राखेका छन्।
यता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले भने परराष्ट्र मन्त्रालयले यस विषयमा स्पष्ट पारिसकेको र आवश्यक परे परराष्ट्रमन्त्रीले थप जवाफ दिने बताएको छ। तर विपक्षी दलहरू प्रधानमन्त्रीकै प्रत्यक्ष स्पष्टीकरण आवश्यक रहेको अडानमा कायम छन्।
दुवै पक्षबीच सहमति नजुटेपछि मंगलबारको प्रतिनिधिसभा बैठक सञ्चालन हुन नसकेको हो। संसद्मा जारी गतिरोधका कारण विधेयक र अन्य कार्यसूचीसमेत प्रभावित बनेका छन्।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।