विराटनगर । आफूहरू नेपाल प्रहरीको ब्युरोमा कार्यरत रहेको भन्दै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने गरेको आरोपमा झापामा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ साठीबिघाका ३३ वर्षीय प्रलाद कार्की र सोही वडाको पालियाखोलाका २३ वर्षीय विशाल बास्कोटा रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले सोमबार साँझ पक्राउ गरेको हो।
प्रहरीका अनुसार दुवैले आफूहरू प्रहरीको विशेष ब्युरोबाट आएको भन्दै सर्वसाधारणलाई डर, त्रास र धम्की देखाएर नगद तथा अन्य सामग्री लुटपाट गर्ने गरेको सूचना प्राप्त भएपछि विशेष निगरानी र अनुसन्धान गरिएको थियो।
पक्राउका क्रममा उनीहरूको साथबाट ब्राउन सुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागूऔषधको तौल प्लास्टिकसहित १ ग्राम ९५० मिलिग्राम र प्लास्टिकबाहेक १ ग्राम ९१० मिलिग्राम रहेको छ।
घटनामा संलग्न दुवै जनामाथि ठगी, लुटपाट तथा लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई कुनै व्यक्तिले प्रहरी भएको परिचय दिएमा आधिकारिक परिचयपत्र हेरेर मात्र विश्वास गर्न तथा शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।