विराटनगर । वैदेशिक रोजगारीका नाममा हुने ठगी र समाजमा जकडिएको मिटरब्याजको जालो तोड्न जिल्ला प्रशासन कार्यालय मोरङले सक्रियता बढाएको छ । प्रशासनको निरन्तरको पहलका कारण पछिल्लो समय ठगीमा परेका सयौँ पीडितहरूले आफ्नो डुबेको रकम र जग्गा फिर्ता पाउन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८२-८३ को साउन १ गतेदेखि यता मात्रै मिटरब्याज तथा अनुचित लेनदेन तर्फ ८ करोड ३८ लाख ५४ हजार ८२७ रुपियाँ पीडितलाई फिर्ता गराएको छ । मिटरब्याजसम्बन्धी दर्ता भएका १६९ वटा उजुरीमध्ये ५० वटा उजुरी फस्र्योट भइसकेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । यस्तै ब्याजमा रकम दिएर जग्गाको राजीनामा पास गराइ ठगीमा परेका पीडितहरुको १ बिघा १२ कट्ठा एक धुर जग्गा समेत पीडितका नाममा फिर्ता गराउन प्रशासन सफल भएको हो ।
त्यसैगरी, वैदेशिक रोजगारी र अन्य व्यक्तिगत ठगीका घटनामा पनि प्रशासनले उल्लेख्य सफलता हात पारेको छ । २०८३ वैशाख १ गतेदेखि जेठ २२ गतेसम्मको अवधिमा ६५ वटा नयाँ उजुरी दर्ता भएकामा ३० वटा मुद्दामा मिलापत्र भई ८८ लाख ६२ हजार रुपैयाँ फिर्ता गराइएको छ ।
पछिल्लो समय मोरङमा रोमानिया पठाउने प्रलोभन देखाई भएको ठगी प्रकरणले पनि ठूलो रुप लिएको छ । ‘केएसए इन्टरनेसनल ग्रुप’का सञ्चालक उद्धव पाठकले २८६ जना युवाबाट करिब ४ करोड ३८ लाख ९५ हजार ५ सय रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरी र प्रशासनले पाठकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आरोपी पाठकको बैंक खातामा रकम नदेखिएका कारण प्रशासनले उनको नाममा रहेको घरजग्गा र कानुनी प्रक्रियामार्फत पीडितलाई न्याय दिलाउन पहल गरिरहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको टिमले यस कार्यलाई प्राथमिकतामा राखेको छ । ठगीका घटनामा पैसा फिर्ता गराउने मात्र नभई दोषीलाई कानुनी कठघरामा उभ्याउने रणनीति प्रशासनले लिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भने, “ठगीको केसमा पीडितले पैसा फिर्ता पाउनु नै सबैभन्दा ठूलो कुरा हो । तर, सुरुमै सेटलमेन्ट मात्र गर्दा दोषी भाग्न सक्ने जोखिम रहन्छ । त्यसैले हामीले मुद्दा पनि चलाउने र पैसा पनि फिर्ता गराउने दुवै प्रक्रियालाई एकसाथ अगाडि बढाइरहेका छौं ।”
प्रशासनको सक्रियतापछि जिल्ला प्रशासन र प्रहरी कार्यालयमा पीडितहरूको विश्वास बढेको छ भने न्यायको आशमा कार्यालयमा घुँइचो बढेको छ । वर्षौँदेखि न्यायको पर्खाइमा रहेका र मिटरब्याजका कारण उठिबास हुन लागेका परिवारहरूले सम्पत्ति फिर्ता पाउन थालेपछि उनीहरुमा आशाको सञ्चार भएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।