लोड हुँदैछ...

मेनु

विवादपछि स्थगित रास्वपा उदयपुरको निर्वाचन प्रक्रिया सुरु

विवादपछि स्थगित रास्वपा उदयपुरको निर्वाचन प्रक्रिया सुरु

उदयपुर । प्रतिनिधि विवादका कारण स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया पुनः सुरु भएको छ।

निर्वाचन कार्यतालिका रद्द भएपछि सोमबार नयाँ कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गरिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको हो।

निर्वाचन समितिका संयोजक नारायण घिमिरेका अनुसार जिल्ला सभापति पदका लागि चित्रकुमार कार्की, जनक बस्नेत र ध्रुवप्रसाद पोखरेलले उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारी फिर्ता लिने क्रममा पोखरेलले आफ्नो नाम फिर्ता लिएपछि सभापतिमा कार्की र बस्नेतबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।

उपसभापति पदका लागि किरण राउत र कृष्णकुमारी घिमिरे श्रेष्ठ चुनावी मैदानमा छन्। सचिव पदमा जनार्दनकुमार कार्की, भुवन खतिवडा र सूर्यबहादुर तामाङले उम्मेदवारी दिएका छन् भने सहसचिव पदमा सूर्यकुमार राई र हुकुममणि पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ।

जिल्ला सदस्यका पाँच पदका लागि अमरबहादुर तामाङ, कौशिला कार्की, गुरुदेव कार्की, तेजमान विश्वकर्मा, पवित्र भट्टराई, बब्लुकुमार गुप्ता, सशिला थापा, सुनीताकुमारी चौधरी र हेमकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

यसअघि आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रियामा प्रवेश गर्ने तयारी भइरहेका बेला प्रतिनिधि छनोट र मतदान अधिकारसम्बन्धी विवाद चर्किएको थियो। विवाद बढेपछि अधिवेशनस्थलमा नाराबाजीसमेत भएको थियो। असन्तुष्ट प्रतिनिधिहरूले नेतृत्व चयन प्रक्रियामा बाह्य हस्तक्षेप भएको आरोप लगाउँदै निष्पक्ष र पारदर्शी निर्वाचनको माग गरेका थिए।

विवादका कारण निर्वाचन समितिले आइतबारको सम्पूर्ण निर्वाचन कार्यतालिका रद्द गर्दै पुनः उम्मेदवारी मनोनयनबाट प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो। त्यससँगै यसअघि दर्ता भएका सबै उम्मेदवारी स्वतः खारेज भएका थिए।

निर्वाचन समितिका संयोजक घिमिरेका अनुसार विवाद समाधानपछि प्रतिनिधिको संख्या घटाएर २५० मा सीमित गरिएको छ। ‘यसअघि करिब ४०० प्रतिनिधि तथा मतदाता भएकाले विवाद उत्पन्न भएको थियो,’ उनले भने।

प्रतिनिधि विवाद समाधान भएसँगै अब रास्वपा उदयपुरले नयाँ जिल्ला नेतृत्व चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds