विराटनगर । नेपालले एसियन गेम्स २०२६ पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सिंगापुरमा सोमबार सम्पन्न फाइनलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
फाइनलअघि नै नेपाल, हङकङ, ओमान र मलेसिया एसियन गेम्सका लागि छनोट भइसकेका थिए। तर उपाधिका लागि भएको प्रतिस्पर्धामा नेपालले अपराजित यात्रालाई निरन्तरता दिँदै उत्कृष्ट प्रदर्शन गर्यो।
हङकङले दिएको १८९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि डीएलएस पद्धतिअनुसार नेपाल विजयी घोषित भयो। उक्त समयमा डीएलएस पार स्कोर ९५ रन रहेकाले नेपाल १९ रनले अगाडि थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ६५ रन बनाए। उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान रोहितकुमार पौडेल ३५ रन तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित रहे। अर्का ओपनर आसिफ शेख भने पहिलो बलमै आउट भएका थिए।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई २० ओभरमा ७ विकेटमा १८८ रनमा सीमित गरेको थियो। हङकङका लागि अंशुमन रथले ४५ बलमा ८० रनको उत्कृष्ट इनिङ्स खेले भने शाहिद वासिफले २८ बलमा ५५ रन जोडे।
नेपालका बलरमध्ये शेर मल्ल चम्किए। उनले ४ विकेट लिएर हङकङको ब्याटिङ लाइनअपमा दबाब सिर्जना गरे। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।
नेपालले लक्ष्य पूरा गरेर जित निकालेको भए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा ठूलो सफल रन चेजको कीर्तिमान बनाउने अवसर थियो। यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पछ्याउँदै जित निकालेको थियो। यद्यपि वर्षाले खेल प्रभावित बने पनि नेपालले उपाधिसहित प्रतियोगिताको सुखद अन्त्य गर्न सफल भयो।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।