विराटनगर । नेपाली कांग्रेसले संखुवासभामा निर्वाचनका क्रममा पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा पूर्वमन्त्री दीपक खड्कासहित तीन नेतालाई स्पष्टीकरण सोधेको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री खड्का, जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई पाँच दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
खड्कामाथि विशेष अधिवेशनबाट चयन भएको कार्यसमितिलाई अस्वीकार गर्ने अभिव्यक्ति दिएको, कांग्रेसले चुनाव जित्दैन भन्दै कार्यकर्तालाई निरुत्साहित गरेको, आफ्ना निकटस्थलाई चुनावी कार्यक्रममा सहभागी नहुन आग्रह गरेको तथा बाहिर रुख चिन्हमा मत मागे पनि भित्री रूपमा सूर्य, घण्टी र माटो चिन्हमा मतदान गर्न प्रेरित गरेको आरोप लगाइएको छ।
त्यस्तै, अधिकारी र लिंखामाथि पनि खड्काको निर्देशनअनुसार आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप छ। लिंखाले केही कार्यकर्तालाई ‘तेरो भोट चाहिँदैन’ भन्दै धम्कीपूर्ण व्यवहार गरेको उजुरीसमेत परेको बताइएको छ।
मुडे बजारमा आयोजित चुनावी सभामा खड्काले विशेष महाधिवेशनबाट बनेको समितिलाई स्वीकार नगर्ने अभिव्यक्ति दिएको तथा धर्मदेवीलगायत क्षेत्रमा कांग्रेसलाई हराएर देखाइदिने चेतावनी दिएको आरोपसहित उजुरी परेपछि अनुशासन समितिले छानबिन प्रक्रिया अघि बढाएको हो।
अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए कांग्रेस विधानअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।