लोड हुँदैछ...

मेनु

नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम पनि खुम्चियो

विराटनगर । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि बजार लगातार ओरालो लागिरहेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स २.६२ अंक, फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंकले घटेका छन्।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३५६ कम्पनीका ९२ लाख ३६ हजार कित्ता शेयर ५६ हजार ८४५ पटक किनबेच हुँदा कुल ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ।

कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य लगातार सकारात्मक सर्किटमा कारोबार हुँदै ११३ रुपैयाँ ६० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा पुगेको छ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर १३ प्रतिशतभन्दा बढी र सोपान फर्मास्यूटिकल्सको शेयर १० प्रतिशतले बढेको छ। यता उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ७.१४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रह्यो। कम्पनीको २० करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८ को १७ करोड रुपैयाँभन्दा बढी र आँखु खोला जलविद्युत कम्पनीको १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये वित्त उपसमूह बाहेक सबै उपसमूह ओरालो लागेका छन्। व्यापार उपसमूह सर्वाधिक १.७७ प्रतिशतले घट्दा विकास बैंक र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।