विराटनगर । २१ फागुनको निर्वाचनपछि बनेको नयाँ राजनीतिक समीकरणका बीच सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग सर्वदलीय छलफल गरेका छन्।
सोमबार सिंहदरबारमा आयोजित बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपालगायत दलका प्रतिनिधिहरू सहभागी भएका थिए। बैठकमा लामिछानेले हालैको भारत भ्रमण, सरकारका गतिविधि तथा आगामी कार्यदिशाबारे जानकारी गराउँदै सुझाव मागेका थिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई शक्ति र बहुमतको दम्भ नदेखाउन विपक्षी दलहरूले सचेत गराएको बताए। उनले संसदमा प्रतिपक्ष संख्यात्मक रूपमा कमजोर भए पनि लोकतान्त्रिक अभ्यास र संवैधानिक शक्ति सन्तुलन कमजोर पार्ने कुनै कदम स्वीकार्य नहुने स्पष्ट पारे।
लिङ्देनले भारत भ्रमणअघि नै सर्वदलीय परामर्श भएको भए अझ उपयुक्त हुने सुझाव विपक्षी दलहरूले दिएको जानकारी दिए। उनका अनुसार विदेश नीति र राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकार र सत्तारुढ नेतृत्वले थप संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइएको थियो।
बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्ति तथा रास्वपा सभापति लामिछानेले भारत भ्रमणका क्रममा व्यक्त गरेको ‘हामी विगतको भारी बोक्दैनौँ’ भन्ने भनाइबारे पनि प्रश्न उठाइएको थियो।
लिङ्देनले नेपालको नयाँ नक्सा, लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी राष्ट्रिय सहमतिको विषयलाई कमजोर पार्ने गरी कुनै अभिव्यक्ति नदिन आग्रह गरिएको बताए। उनले राष्ट्रिय हितका सवालमा सबै दल एकमत हुनुपर्ने धारणा राखे।
विपक्षी दलहरूले रास्वपाले प्राप्त गरेको जनमतलाई सकारात्मक अवसरका रूपमा उपयोग गर्न सुझाव दिँदै संवाद र परामर्शको संस्कृति निरन्तर कायम राख्न आग्रह गरेका छन्।
बैठकमा सहभागी दलहरूले सरकारका कामकारबाहीबारे रचनात्मक सुझाव राखेको र भविष्यमा पनि यस्ता सर्वदलीय छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।