विराटनगर । संघीय संसदमा लामो समयदेखि कायम गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विशेष सक्रियता देखाएको छ। सदनको अवरोध हटाउने र समसामयिक राजनीतिक विषयमा साझा सहमति खोज्ने उद्देश्यले रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सोमबार बिहान ९ बजे सर्वदलीय बैठक बस्दैछ ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा तय गरिएको सो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा सहभागी हुन सबै दलहरूले सुनिश्चितता गरिसकेका छन्। बैठकमा प्रत्येक दलबाट नेतृत्वसहित दुई जना सहभागी हुनेछन्।
संसदीय प्रक्रियालाई सहज बनाउन रास्वपाका नेता डोलप्रसाद अर्यालले यसअघि नै विभिन्न दलका सचेतकहरूसँग समन्वय गरिसकेका छन्। सदनमा देखिएको डेडलक तोड्न रास्वपाले लिएको यो अग्रसरतालाई राजनीतिक रूपमा महत्त्वका साथ हेरिएको छ। आजको छलफलले संसदलाई प्रभावकारी रूपमा अगाडि बढाउने ठोस उपाय खोज्ने विश्वास गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।