विराटनगर । उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशको मौसममा उल्लेख्य बदलाव आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबारको मौसमी बुलेटिन अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। यस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाले कृषि तथा दैनिक कामकाजमा सतर्कता अपनाउन सुझाइएको छ। यस्तै, कोशीका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने देखिएको छ ।
कोशीबाहेक बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा पनि बादल लाग्ने र थोरै स्थानमा वर्षा हुने अनुमान छ। मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदली रहनेछ। बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यसैबिच, पहाडी क्षेत्रमा वर्षा र बदली भए पनि तराईका केही क्षेत्रमा भने गर्मी बढ्ने देखिएको छ। विशेषगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तापक्रम वृद्धि भई तातो हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।