लोड हुँदैछ...

मेनु

प्रतिनिधि विवादले रास्वपा उदयपुर अधिवेशन स्थगित, कार्यकर्ताहरूको नाराबाजी

प्रतिनिधि विवादले रास्वपा उदयपुर अधिवेशन स्थगित, कार्यकर्ताहरूको नाराबाजी

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि विवादका कारण स्थगित भएको छ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनपछि प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विवाद चर्किएपछि असन्तुष्ट पक्षले नाराबाजी र होहल्ला गरेपछि निर्वाचन प्रक्रिया आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।

विवादपछि असन्तुष्ट प्रतिनिधिहरूले आफूहरूले बुझाएको लेबी रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका छन्। उनीहरूले उदयपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूप्रति समेत असन्तुष्टि जनाएका छन्।

प्रदर्शनकारीहरूले पार्टीको विधान मान्य भए पनि विधानविपरीत गरिएको भनिएको चलखेल स्वीकार्य नहुने बताएका छन्। उनीहरूले प्रतिनिधि चयन प्रक्रियामा हस्तक्षेप भएको आरोप लगाउँदै विरोध जनाएका हुन्।

जिल्ला नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति चित्रकुमार कार्की र जनक बस्नेतबीच प्रतिस्पर्धा हुने तय भएको छ। उपसभापतिमा कर्णकुमारी घिमिरे श्रेष्ठ र किरण राउत, सचिवमा भूवन खतिवडा र जनार्दन कार्की तथा सहसचिवमा हुकुममणि पाण्डे र सूर्यकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीभित्र सभापति पदको प्रतिस्पर्धालाई दुई धारबीचको भिडन्तका रूपमा हेरिएको छ। स्रोतका अनुसार चित्रकुमार कार्कीलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह निकट समूहको समर्थन रहेको छ भने जनक बस्नेतलाई पार्टी सभापति रवि लामिछाने निकट समूहको उम्मेदवारका रूपमा हेरिएको छ।

असन्तुष्ट पक्षले बालेन निकट मानिने रोहन कार्कीको निर्देशनमा विधानविपरीत प्रतिनिधि मनोनयन गरेर चित्रकुमार कार्कीलाई फाइदा पुर्‍याउने प्रयास भएको आरोप लगाएको छ। विरोधका क्रममा उनीहरूले रोहन कार्कीविरुद्ध समेत नाराबाजी गरेका छन्।

मुख्य निर्वाचन अधिकृत नारायण घिमिरेले प्रतिनिधिसम्बन्धी विवाद समाधान नभएसम्म निर्वाचन प्रक्रिया अगाडि बढाउन नसकिने अवस्था सिर्जना भएकाले अधिवेशन स्थगित गरिएको बताए।

‘प्रतिनिधिका विषयमा विवाद भएपछि निर्वाचन प्रक्रिया आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो,’ घिमिरेले भने।

विवाद समाधान भएपछि मात्रै नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढ्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds