लोड हुँदैछ...

मेनु

वित्त कम्पनीमा आकर्षण बढ्दा नेप्सेमा २२ अंकको सुधार

वित्त कम्पनीमा आकर्षण बढ्दा नेप्सेमा २२ अंकको सुधार

विराटनगर । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको छ। अघिल्लो दिन २६ अंकभन्दा बढीले घटेको बजारमा मंगलबार सुधार देखिएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले वृद्धि भएको छ।

बजारमा अधिकांश उपसमूह हरियाली देखिएका छन्। १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह मात्रै सामान्य अंकले घटेको छ। वित्त उपसमूहमा लगानीकर्ताको आकर्षण उच्च देखिँदा उक्त उपसमूहको परिसूचक सर्वाधिक ६.०३ प्रतिशतले उकालो लागेको छ। अन्य उपसमूह करिब ४ प्रतिशतले बढ्दा व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ५ अर्ब ६१ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ३४६ कम्पनीका १ करोड १३ लाख ८५ हजार कित्ता शेयर ६१ हजार ५२७ पटक किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ।

मूल्य वृद्धितर्फ कालिन्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कम्पनीको शेयरमूल्य ६४ रुपैयाँ ९० पैसा बढेर ४९८ रुपैयाँ २० पैसामा पुगेको छ। सेन्ट्रल फाइनान्सको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी तथा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ। मंगलबार कुनै पनि कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेन।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २६ करोड रुपैयाँभन्दा बढी तथा रिडी पावर कम्पनीको २६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

सोमबारको गिरावटपछि मंगलबार बजारमा सुधार देखिएसँगै लगानीकर्ताको मनोबल केही बलियो बनेको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।