काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयले दिएका सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनले सुझावहरू अक्षरशः पालना भए बेरुजु घटाउन तथा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन्।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा महालेखा परीक्षकको कार्यालय कोशी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले बेरुजु र अनियमित खर्चले प्रदेश मात्र नभई समग्र मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गरे। उनले सुशासन, पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न महालेखा परीक्षकका सुझावहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम नायब महालेखा परीक्षक श्रीकुमार राईले प्रदेश प्रमुख खापुङलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए।
प्रतिवेदन हस्तान्तरणका क्रममा नायब महालेखा परीक्षक राईले कोशी प्रदेश बेरुजुको हिसाबले बागमती र गण्डकी प्रदेशपछि कम बेरुजु हुने प्रदेश रहेको जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशमा १ दशमलव ०६ प्रतिशत बेरुजु कायम भएको छ।
कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव तथा कर्मचारीहरू र महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।