लोड हुँदैछ...

मेनु

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अब ‘अटोमेटेड’ प्रणालीबाट, यस्ता छन् सर्तहरू

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अब ‘अटोमेटेड’ प्रणालीबाट, यस्ता छन् सर्तहरू

विराटनगर । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि दिइने पुनः श्रम स्वीकृतिको प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ।

नेपाल सरकारको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ बमोजिम विभागले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। यसअघि वैदेशिक रोजगारीमा गएका र सोही देश तथा सोही कम्पनीमा पुनः काम गर्न जान चाहने नेपाली कामदारहरूले अब अनलाइनमार्फत स्वचालित प्रणालीबाटै श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन्। यसले सेवाग्राहीको समय र झन्झट कम हुने अपेक्षा गरिएको छ।

स्वचालित पुनः श्रम स्वीकृति प्राप्त गर्न पालना गर्नुपर्ने सर्तहरू राखिएको छ । विभागले जारी गरेको सूचना अनुसार, अटोमेटेड प्रणालीबाट पुनः श्रम स्वीकृति लिनका लागि यसअघि श्रम स्वीकृति लिएकै देश र कम्पनीको लागि पुनः आवेदन गरेको हुनुपर्ने, राहदानीको म्याद कम्तीमा ३ महिना बाँकी हुनुपर्ने, सम्बन्धित देशको वैध भिसा हुनुपर्ने, रोजगारदाता कम्पनीसँगको करार सम्झौता हुनुपर्ने, सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा तोकिएको रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बीमा गरिएको हुनुपर्ने र वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा भिसा र करार लगायतका विषयमा स्वयंले सही विवरण भरेको भनी स्व–घोषणा गर्नुपर्ने रहेका छन् ।

विभागले अनलाइन आवेदन दिँदा वा विवरण भर्दा कुनै गलत कागजात पेस भएमा वा विवरण फरक परेमा त्यसको सम्पूर्ण जिम्मेवारी र दायित्व स्वयं सेवाग्राहीले व्यहोर्नुपर्ने स्पष्ट पारेको छ। यदि प्रणालीमा विवरण गलत भरिएमा वा तोकिएको कागजात पेस नगरी त्रुटिपूर्ण श्रम स्वीकृति जारी भएमा त्यसको कानुनी परिणामको जिम्मेवार आवेदक नै हुनुपर्ने विभागको सूचनामा उल्लेख छ। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजना अन्तर्गत यो कदम चालिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।