विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डमा उपाध्यक्ष र सदस्य–सचिवसहित ११ जना पदाधिकारी तथा सदस्यहरू नियुक्त भएको एक हप्ता हुन लाग्दा पनि बोर्डको आधिकारिक वेबसाइट अपडेट हुन सकेको छैन। जेठ १२ गते नै नयाँ नेतृत्व चयन भए पनि वेबसाइटमा भने अझै पुरानै र अपूर्ण विवरण राखिएको पाइएको हो।
हाल बोर्डको आधिकारिक वेबसाइटमा अध्यक्षका रूपमा मन्त्री रामप्रसाद महतोको मात्र नाम उल्लेख छ। नियुक्त भएका उपाध्यक्षद्वय वसन्त अर्याल र सन्तोषी श्रेष्ठ, सदस्य–सचिव विप्लव घोष तथा अन्य सदस्यहरूको नाम कतै पनि अद्यावधिक गरिएको छैन।
वेबसाइटको कर्मचारी विवरणमा उपसचिव दुर्गाप्रसाद सिग्देल, लेखा अधिकृत दीपक घिमिरे र सूचना अधिकारीको मात्र नाम देखिन्छ। आश्चर्यको कुरा त के छ भने, बोर्ड सदस्यहरूको सूचीमा ‘माननीय मन्त्री रामप्रसाद महतो’ भनेर पाँच ठाउँमा एउटै नाम दोहोर्याएर राखिएको छ।

नवनियुक्त बोर्ड सदस्यहरूमा इलामका टीकाराम पुरी, उदयपुरका दुर्गाप्रसाद कठेत, ओखलढुंगाका विश्वराज राई, झापाका बीना बस्नेत र बालाजित राई, सुनसरीका सुशीला राई र ईश्वरविक्रम शाह तथा तेह्रथुमका केशव भट्टराई रहेका छन्। उनीहरूलाई गत बुधबार मध्यरातमा मन्त्री महतोले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
यसअघि बोर्डका तत्कालीन सदस्य–सचिव कृष्ण बस्नेतको कार्यकाल गत भदौ २५ गते सकिएपछि बोर्ड आठ महिनादेखि नेतृत्वविहीन बनेको थियो। लामो समयसम्म सदस्य–सचिव नियुक्त हुन नसक्दा प्रदेशभरका खेलकुद गतिविधिहरू ठप्प भएका थिए। नयाँ नेतृत्व आएपछि खेल क्षेत्रमा उत्साह जागे पनि सरकारी निकायको सूचना प्रविधि वेबसाइटमा भएको यो लापरबाहीले गर्दा सर्वसाधारण झुक्किने गरेका छन्।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।