धरान । सुनसरीको धरान–१३ स्थित कृषि उपज बजार क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई हटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले निर्देशन दिएको छ।
बजार क्षेत्रको अतिक्रमण हटाई सरकारी जग्गा संरक्षण गर्न विभागले देशभरका ११ वटा कृषि उपज थोक बजार व्यवस्थापन समितिलाई परिपत्र जारी गरेको हो।
कृषि अर्थ विज्ञ अनुशा कार्कीको हस्ताक्षर रहेको वैशाख २४ गतेको परिपत्रमा बजार क्षेत्रभित्र अतिक्रमणको अवस्था अध्ययन गरी सम्बन्धित पक्षलाई जग्गा खाली गर्न सूचना दिन तथा अटेर गरे स्थानीय तह र प्रशासनसँग समन्वय गरेर कानुनी प्रक्रिया अघि बढाउन भनिएको छ। विभागले तीन दिनभित्र अतिक्रमणको विवरणसमेत पेश गर्न निर्देशन दिएको छ।
धरान कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बजारको करिब २ देखि ३ कट्ठा जग्गामा ६ परिवार वर्षौँदेखि बसोबास गर्दै आएका छन्। उनले सम्बन्धित निकायसँग समन्वय गरेर मात्र अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन सकिने बताए।
विभागले बजार क्षेत्रको जग्गा संरक्षणका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाएर अतिक्रमण हटाउने कार्य अघि बढाउन र त्यसको प्रगति विवरण मन्त्रालय तथा विभागलाई जानकारी गराउन पनि निर्देशन दिएको छ।
धरान उपमहानगरपालिकाले भने सुकुम्बासी परिवारलाई बलपूर्वक हटाउने पक्षमा नरहेको स्पष्ट गरेको छ। कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले आफ्नो कार्यकालमा कसैलाई घरबारविहीन बनाउने काम नगर्ने बताए।
सबै नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै बेघाले वैकल्पिक व्यवस्थाबिना कुनै परिवारलाई विस्थापित गर्न नहुने धारणा राखेका छन् । विभागको निर्देशनपछि सरकारी जग्गा संरक्षण र सुकुम्बासी व्यवस्थापनको विषय विवादित छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।