विराटनगर । मोरङको उर्लाबारीमा बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । बिरामी पर्नेमा दुई जना बालक समेत रहेका छन् ।
उर्लाबारी नगरपालिका–४ आइतबारेका ३६ वर्षीय भूमिराज उराउ, उनकी ३२ वर्षीया पत्नी रामकुमारी उराउ, १४ वर्षीय छोरा अर्विन र ८ वर्षीय छोरा अरुण उराउ बिरामी परेका हुन् । प्रहरीका अनुसार आइतबार बिहान आफ्नै बारीको परालमा उम्रिएको सेतो रङको च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका थिए ।
बिरामीमध्ये ८ वर्षीय बालक अरुण उराउको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ भने अन्यको अवस्था सामान्य छ । उनीहरू सबैको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ । साथै, वर्षाको समयमा जथाभावी उम्रिएका विषालु हुन सक्ने च्याउ नखान प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।