लोड हुँदैछ...

मेनु

कोशी अस्पतालमा आफ्नै ब्लड बैंक स्थापना

कोशी अस्पतालमा आफ्नै ब्लड बैंक स्थापना

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा बुधबारदेखि आफ्नै ब्लड बैंक (रक्त सञ्चार केन्द्र) सञ्चालनमा आएको छ । अस्पतालको प्रयोगशाला ल्याब छेउमा स्थापना गरिएको सो ब्लड बैंकको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले उद्घाटन गरे ।

ब्लड बैंक स्थापनासँगै अब बिरामीको उपचारमा थप सहजता हुने डा. चौधरीले बताए । यसअघि अस्पतालमा आफ्नै ब्लड बैंक नहुँदा बिरामीका आफन्त रगतका लागि विराटनगरको देवकोटा चोकस्थित नेपाल रेडक्रस सोसाइटीको कार्यालयसम्म धाउनुपर्ने बाध्यता थियो । अब भने कोशी अस्पतालमा भर्ना भएका बिरामीले अस्पतालभित्रै रगत प्राप्त गर्न सक्नेछन् ।

३ सय शय्या क्षमताको यस अस्पतालमा दैनिक ७ सयदेखि ९ सयसम्म बिरामीहरू बहिरङ्ग सेवा (ओपीडी) का लागि आउने गर्दछन् । तीमध्ये भर्ना हुने बिरामीको संख्या पनि ठुलो रहने गरेको छ । अस्पतालको बालरोग विभाग अन्तर्गत तीन शय्याको ‘थालासेमिया युनिट’ समेत सञ्चालनमा छ, जहाँ दैनिक ५ जनासम्म थालासेमियाका बिरामी आउने गर्दछन् ।

‘उनीहरूलाई नियमित रगत चढाउनुपर्ने हुन्छ,’ बालरोग विशेषज्ञ समेत रहेका मेसु डा. चौधरीले भने, ‘दैनिक यस्ता बिरामी आउने भएकाले ब्लड बैंक स्थापना भएपछि उनीहरूको उपचारमा ठुलो राहत पुग्नेछ ।’

ब्लड बैंक उद्घाटनको अवसरमा अस्पताल परिसरमा खुला रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी र सर्वसाधारण गरी ५० जनाभन्दा बढीले रक्तदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds